प्रेस काउन्सिल नेपालले भारतीय सञ्चारमाध्यमलाई कारवाही गर्न माग गर्दै भारतीय प्रेस काउन्सिललाई पत्राचार गरेको छ ।
भारतीय सञ्चारमाध्यमहरुले नेपाल सरकार र सरकारप्रमुखको विषयमा चरित्रहत्या गर्ने उद्देश्यका अतिरञ्जित सामग्रीहरु सम्प्रेषण गरेको भन्दैं आवश्यक कारवाहीका लागि प्रेस काउन्सिल अफ इण्डिया (भारतीय प्रेस परिषद) लाई पत्र पठाएको हो ।
शुक्रबार प्रेषित उक्त पत्रमा भारतीय सञ्चारमाध्यमहरुलाई पत्रकारिता आचारसंहिताभित्र रहेको समाचार सम्प्रेषण गर्न परिषद्लाई सहजीकरणको आग्रह पनि गरिएको छ ।
काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठद्वारा परिषद्का समकक्षी चन्द्रमौली कुमार प्रसादलाई लेखिएको पत्रमा लिम्पियाधुरासहितको नेपालको भौगोलिक नक्सा सार्वजनिक भएसँगै भारतीय सञ्चारमाध्यम यसखालका असत्य समाचार प्रकाशन र प्रशारणमा लागेको भनिएको छ ।
काउन्सिलले पत्रमा हालैमात्र जी न्यूजमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीबीचको सम्बन्ध बारे अनैतिक टिप्पणी गरेको र यसले सार्वभौमसत्ता सम्पन्न राष्ट्रको अस्तित्वमा समेत प्रहार गरेको भन्दैं भारतीय पक्षको ध्यानाकर्षण गराएको छ ।
भारतीय सञ्चारमाध्यम खासगरी टेलिभिजनले यस्ता आधारहीन सामग्रीमा फैलाइरहेकै कारण नेपालमा भारतीय समाचार च्यानल बन्द भएको स्मरण गराउँदै काउन्सिलले यस्ता सञ्चारमाध्यमलाई आचारसंहिताको दायरामा ल्याउन नियामक निकाय अग्रसर हुन अनुरोध समेत गरेको छ ।
‘सञ्चारमाध्यमका यस्ता सामग्रीले दुईदेशका नागरिकको युगौदेखिको परम्परको सुमधुर सम्बन्धमा खलल पार्ने कुचेष्टा गरिरहेका छन् । हामी तत्काल उनीहरुमाथि कार्वाही गर्ने वा आचारसंहितामा कायम रहन सहजीकरण गर्न भारतीय पक्षलाई आग्रह गर्दछौं’, पत्रमा लेखिएको छ ।