आजबाट चक्रपथमा मयुर र संयुक्त यातायातमा आवद्ध केही बस गुडेका छन् । हाल ६ ओटा बसबाट सेवा सुरू गरिएको मयुर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठले जानकारी दिए ।
सञ्चालनमा आएका बसहरुमा सरकारले तोकेको मापदण्डअनुसार बसमा एक पङ्तिको सिटमा एक जना मात्र बसेका छन् भने यात्रुहरुले मास्क लगाएका छन् । सहचालकले यात्रुलाई स्यानिटाइजर पनि दिएका छन् । साझा यातायातले पनि केही दिनभित्रै बस चलाउने तयारी गरेको छ । यही हप्ताबाट केही गाडी सञ्चालन गरिने साझा यातायातले जनाएको छ ।
सरकारले असार २६ गतेदेखि जिल्लाभित्र र काठमाडौंको हकमा उपत्यकाभित्र छोटा दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने अनुमति दिएको थियो। केही यातायात व्यवसायी भने विभिन्न माग राख्दै सेवा दिन नसक्ने बताउँदै आएका छन्।