प्राधिकरणद्वारा जग्गा प्राप्तिको सुनिश्चितताका लागि प्रक्रिया शुरु गर्न आग्रह

News

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लामा घर निर्माण गर्न सहमति पाएका परिवारहरुलाई जग्गा प्राप्तिको सुनिश्चितताका लागि प्रक्रिया शुरु गर्न आग्रह गरेको छ । आज आयोजित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र भूमिसम्बन्धी समस्या समाधान आयोगबीच भूमिहीन भूकम्प प्रभावित लाभग्राहीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने सम्बन्धमा छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रक्रिया शुरु गर्न आग्रह गरेका हुन् ।

प्राधिकरणले स्थानीय तहको सिफारिस र जिल्ला समन्वय समितिको स्वीकृतिअनुसार १० हजारभन्दा बढी भूमिहीन सहितका लाभग्राहीलाई घर निर्माणको अनुमतिसहित अनुदान उपलब्ध गराएको छ । स्थानीय तहले भूमिहीन लाभग्राहीलाई आवास निर्माणका लागि घरले चर्चेसम्मको जग्गा आवास निर्माण प्रयोजनका लागि जिल्ला समन्वय समितिलाई सिफारिस गर्छ । सङ्घीय संसद्का सांसदको अध्यक्षतामा रहेको समन्वय समितिले पछि ठहरेबमोजिम हुने गरी घर निर्माणका लागि अनुमति दिन्छ ।

प्राधिकरणले आफ्नो व्यवस्थापन सूचना प्रणालीमा रहेको भूमिहीनलगायत त्यस्ता भूकम्प प्रभावित लाभग्राहीहरुको तथ्याङ्क आयोगलाई उपलब्ध गराउनेछ । ऐलानी, हैसियत बिग्रेका वन क्षेत्रमा घर बनाउने अनुमति पाएका भूमिहीन तथा मोही, स्ववासी, गाउँ एवं सहरी ब्लक लगायतका लाभग्राहीहरुलाई जग्गाधनी पूर्जा दिनेबारे समेत छलफल भएको हो ।

भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले प्राधिकरणको तथ्याङ्क तथा अनुभव भूमिहीन नागरिकका समस्या समाधानका लागि महत्वपूर्ण हुने बताउँदै अगामी दिनमा प्राधिकरणसँग समन्वयमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय तहको सिफारिस र जिल्ला समन्वय समितिको स्वीकृतिअनुसार घर निर्माण गरेका लाभग्राहीहरुको सम्बन्धित जग्गाको स्वामित्वको छानबिन तथा अन्तिम निर्णय आयोगको नै हुनेछ । भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन र प्रमाणीकरण गर्नका लागि सरकारले २०७६ चैतमा आयोग गठन गरेको थियो ।