नेपाल औषधि उत्पादक संघद्वारा औषधि व्यवस्था विभागमा धर्ना

News

नेपाल औषधि उत्पादक संघले आज औषधि व्यवस्था विभागमा बिहान ११ बजेदेखि १ः३० बजेसम्म शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको छ ।

मन्त्रीस्तरीय निर्णयले गत असार २२ गते स्यानिटाइजरको दर्ताका लागि थप ३ महिना समयावधि दिने निर्णयको बिरोध गरेका हुन् । नेपाल औषधि उत्पादक संघको अनुसार दर्ता समय थपिनु भनेको बिना दर्ता र बिना गुणस्तर परीक्षण थप ३ महिना बजारमा स्यानिटाइजर बिक्री गर्न दिनु जनताको स्वास्थ्य माथिको खेलवाड हो ।

यो वा त्यो बहानामा नेपाली उद्योगहरुको प्रवद्र्धनमा विरुद्धमा गरिएका निर्णय तत्काल फिर्ता लिन हामी आग्रह गर्छाैं । नेपाल औषधि उत्पादक संघले स्वास्थ्यमन्त्रीलाई भेटेरनै विभिन्न समयमा नेपाल सरकारले गरेका निर्णयको कार्यान्वयन गर्न १८ बुँदे मागसहित पत्र बुझाएको थियो । मन्त्रीबाट औषधि परामर्श परिषद्को बैठक राखी तत्काल कार्यान्वयन गर्ने भनिएको थियो ।

नेपाल औषधि उत्पादक संघले उक्त परिषद्को बैठकका लागि आफ्ना मागहरु पनि बुझाइसकेको थियो । तर एक्कासि स्यानिटाइजरको दर्ता समय थपले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको संघले जनाएको छ । मागको सुनुवाइ नभए साउन १ गतेबाट कडा आन्दोलनमा जाने चेतावनी संघले दिएको छ ।

विदेशीले कठिन समयमा औषधि निकासी रोक्न सक्ने तर हाम्रो सरकारले आत्मनिर्भर भइसकेको औषधी आयात रोक्न किन नसक्ने, नेपाली उद्योगको विकास र राष्ट्रलाई आत्मानिर्भर बनाउन, कोरोना भाइरसको संक्रमणको यो बेला गुणस्तरीय उत्पादन मात्र बजारमा पाउनुपर्नेमा सरकारको यो निर्णय गलत भएको उत्पादक संघको भनाइ छ ।