नेपाल राष्ट्र बैंकले ऋणको साँवाको किस्ता र ब्याज तिर्ने समय २ वर्षसम्म थप गरिदिएको छ ।
आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ ले असर पारेका क्षेत्रको कर्जा तिर्ने अवधि थप गर्ने बताएका हुन् ।
मौद्रिक नीतिमार्फत ऋण तिर्नका लागि क्षतिको प्रभावअनुसार तीन चरणको अवधि दिइएको छ। २०७७ असार मसान्तसम्म तिर्नुपर्ने अवधि भएका चालु पुँजी कर्जा र कोभिड–१९ बाट कम मात्रामा प्रभावित भएका पेशा व्यवसायमा प्रवाहित भएका कर्जाको किस्ता र व्याज रकम पुस मसान्तसम्म तिर्दा हुने भएको छ ।
त्यसैगरी, मध्यम रूपमा प्रभावित भएका पेशा व्यवसायमा लगानी भएका ऋणको किस्ता र ब्याज भने २०७७ चैत मसान्तसम्मा तिर्दा हुने व्यवस्था मौद्रिक नीतिबाट गरिएको छ ।
त्यसैगरी, कोभिड–१९ बाट अतिप्रभावित भएका पेशा व्यवसायमा लगानी भएका बैंकको ऋणको २०७७ असार मसान्तसम्म बुझाउनुपर्ने किस्ता र व्याज रकम २०७८ असार मसान्तसम्म भुक्तानी गर्ने सुविधा दिइएको छ ।
त्यसैगरी, पुनर्स्थापित हुन समय लाग्ने पर्यटन लगायतका अति प्रभावित क्षेत्रमा लगानी भएको ऋणको साँवाको किस्ता र ब्याज तिर्नका लागि आवश्यकता अनुसार थप समय दिन सक्ने व्यवस्था मिलाउने गभर्नर महाप्रसाद अधिकारीले बताए ।