राष्ट्र संघद्धारा १० अर्ब ३० करोड डलरको कोषका लागि अपिल

International

संयुक्त राष्ट्र संघले कोरोना भाइरस महामारीविरुद्धको लडाइमा सहयोग गर्नका लागि १० अर्ब ३० करोड डलर बराबरको कोषका लागि अपिल गरेको छ ।

कोरोना संक्रमणको असरका कारण यो वर्षको अन्त्यसम्ममा विश्वका २६ करोड ५० लाख मानिसले भोकमरीको सामना गर्नुपर्ने भन्दै राष्ट्र संघले विश्व समुदाय समक्ष यस्तो अपिल गरेको हो ।

राष्ट्र संघले गरेको यो अपिल अहिलेसम्मकै ठूलो कोषका लागि हो। कोषको रकम न्यून आय भएका र कमजोर मुलुकहरूमा प्रयोग गरिने राष्ट्र संघले जनाएको छ ।

यसअघि पहिलो पटक गत मार्चमा राष्ट्र संघले दुई करोड डलरको कोषका लागि अपिल गरेको थियो ।

कोषमा रकमका लागि अपिल गर्दै राष्ट्र संघले धनी मुलुकहरूले अब आफ्नो अर्थतन्त्र उकास्नुका साथै गरिब मुलुकहरूका लागि समेत काम गर्नुपर्ने जनाएको छ ।

त्यसो नभएको खण्डमा विश्वमा थप संकट निम्तिने र लाखौं मानिस भोकमरीको शिकार हुने राष्ट्र संघले चेतावनी दिएको छ । कोषको रकम उठ्न नसके दशकौंदेखिको विकास खेर जाने पनि राष्ट्र संघले जनाएको छ ।