प्रधानन्यायाधीशलाई महाभियोग लगाउन माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

Politics

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाभियोग लगाउन माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले श्रीमती मार्ने पूर्वडिआइजी रञ्जन कोइरालालाई जन्मकैदबाट साढे ११ वर्ष कैद घटाएर साढे ८ वर्ष पुर्‍याइदिएको थियो ।

अदालतको चोला फेर्न चोलेन्द्रलाई महाभियोग, भागवण्डाको गोटीले हत्यारा छुट्यो भेटीले’ जस्ता नारा लगाउँदै नागरिक समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्र र न्यायाधीश सपना मल्ललाई महाभियोग लगाएर जेल चलान गर्न  माग गरेका छन् ।

पूर्वडिआइजी रञ्जन कोइरालाको केस र बुढानिलकण्ठमा भएको हिट एण्ड रन केसमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति नागरिक समाजले विरोध जनाएको हो । त्यस्तै, अदालतले बुढानिलकण्ठ हिट एन्ड रन मुद्दाका अभियुक्त पृथ्वी मल्ललाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

सात महिनाअघि मल्लले मादकपदार्थ सेवन गरेर तीव्र गतिमा चलाएको कारले गोरखा घर भएकी लीला देवकोटालाई फुटपाथमै चढेर ठक्कर दिएपछि उनको मृत्यु भएको थियो ।