काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी)को बालबालिका लक्षित टेलिभिजन चिल्ड्रेन्स बीबीसी अर्थात् सीबीबीसीको इतिहासमै पहिलोपटक समलिङ्गी टिनएजरको चुम्बन प्रशारण भएको छ । दुुई महिला पात्रहरुले ‘द नेक्स्ड स्टेप’ शो अन्तर्गत एकआपसमा चुम्बन गरेका हुन् । यो क्यानेडेली शृंखला बेलायतमा सीबीबीसीबाट प्रशारण भइरहेको छ ।डान्सर बन्न चाहनेको कथामा आधारित यस शृंखला ७ वर्षदेखि किड्स च्यानलमा प्रशारण भइरहेको छ । तर समलिङ्गीको कथालाई देखाइएको यो पहिलो अवसर हो ।१९ वर्षीया डेनी भिरायोले यस शृंखलामा ‘क्लिओ’ पात्रको भूमिका निभाएकी छिन् भने १८ वर्षीया मोली साउन्डर्स ‘जुड’ को भूमिकामा छिन्, आफ्नो रोमान्टिक डान्स रुटिनका दौरान यी दुई पात्रले एकअर्कालाई चुम्बन गर्छन् ।शृंखला प्रशारणमा आएपछि यसले निकै सकारात्मक प्रतिक्रिया पाएको छ । यस शृंखलाका एक दर्शकले भने, ‘यो सुधार हो । यसले मानिसहरुलाई देखाउँछ कि विपरीत लिङ्गीलाई मन पराउनुजस्तै समलिङ्गीलाई मन पराउनु पनि सामान्य हो ।’समलिङ्गीहरुको सामाजिक संस्था स्टोनवालले यस दृश्यलाई महत्वपूर्ण भनेको छ । त्यस्तै बीबीसीका प्रवक्ताले सबै क्षेत्रका बालबालिकाको जीवन झल्काउन पाउँदा सीबीबीसी गौरवान्ति रहेको जनाएका छन् । बालबालिकाको च्यानलमा भर्खरै प्रशारण भएपनि बेलायतमा समलिङ्गीको चुम्बनको दृश्य सामान्य नै हो ।