वासिङटन : कोरोनाभाइरस महामारीको सबैभन्दा बढी क्षति भएको देश अमेरिकामा अब बिस्तारै स्कुल, कलेज खोल्न थालिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सबै स्कुललाई अध्यापन फेरि सञ्चालन गराउन आदेश दिएका छन् । तर सबै स्कुल यस्तो आदेश मान्न तयार छैनन् । यतिसम्म कि, ट्रम्पका कान्छा छोरा अध्ययन गर्ने स्कुलले नै ट्रम्पको आदेश अस्वीकार गरेको छ । अहिले स्कुल खोल्ने माहोल नभएको भन्दै उक्त स्कुल सञ्चालन गर्न तयार नदेखिएको हो ।
अमेरिकी मिडियाका अनुसार ट्रम्पका कान्छा छोरा अध्ययन गर्ने स्कुलले आगामी सेप्टेम्बरसम्म खोल्न नसक्ने अडान राखेको छ । सेन्ट एन्ड्र्यू स्कुलले विज्ञप्ति निकाल्दै हाल स्कुल खुलाउन नसक्ने अडान लिएको हो । उक्त स्कुलले स्वास्थ्य अधिकारीहरुले बनाएको गाइडलाइन पालना गर्ने अडान राखेको हो । बरु अनलाइन माध्यमबाट कसरी कक्षा सञ्चालन गर्ने भन्नेबारे अगष्ट १० मा बैठक बोलाएको बताइएको छ ।
ट्रम्पले भने ५ करोड भन्दा धेरै बालबालिकालाई स्कुल जानबाट रोक्न नसकिने भन्दै स्कुल खुलाउन आदेश दिएका हुन् । साथै अनिश्चितकालसम्म स्कुल बन्द गर्दा बालबालिकाको मानसिक, शारीरिक र भावनात्मक विकासमा क्षति पुग्ने भन्दै ट्रम्पले स्कुल खुलाउन आदेश दिएका थिए ।