सिटभर यात्रु राखेर बढी भाडा असुल्दै सार्वजनिक सवारी

News

कोरोना भाइरसबाट बच्‍न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । बन्दाबन्दी खुलेसँगै बाहिर निस्कने मानिस बढ्न थालेका छन् । जसका कारण सार्वजनिक यातायातमा भीड बढ्दै छ ।

सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने नियमको चालक परिचालकले पालना गरेका छैनन् । नियामक निकाय ट्राफिक प्रहरीले पनि यसतर्फ ध्यान नदिएको यात्रुहरुको गुनासो छ।  सिट क्षमताको आधामात्र यात्रु राख्न नै ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको हो । परिचालकले चढ्नेलाई नआऊ भन्न नसकिने भनी उत्तर दिने गरेको यात्रुहरु बताउछन्।

सार्वजनिक सवारी सिटभर यात्रु भरिएर उभिरहेका बेला पनि आधा घण्टासम्म कुरेर पर्खने क्रम दोहोरिन थालेको उहाँको गुनासो छ । केही दिन अघिसम्म काठ क्षेत्रका सवारीमा मात्र यात्रुको भीड देखिने गरेकामा अब भित्री शहरमा चल्ने सवारीमा पनि भीड बढ्न थालेको छ । भित्री शहरमा चल्ने नेपाल यातायात, कान्तिपुर यातायात, विभिन्न स्थानमा चल्ने माइक्रो र सफा टेम्पोमा पनि सिटभर यात्���ु देखिन थालेका छन् ।

अनुगमनको जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको यातायात व्यवस्था विभागले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनशक्ति अभावका कारण सबैतिर आवश्यकता अनुसार अनुगमन गर्न नसकिएको बताएको छ।

हाल उपत्यकामा पोशाक एवं सादा पोशाकमा समेत गरी २९ टोली सार्वजनिक यातायात अनुगमनकै लागि खटाइएको उहाँले सुनाउनुभयो । शुक्रबार सिट क्षमताको आधाभन्दा बढी यात्रु राख्ने १९ सवारीलाई कारवाही गरिएको थियो । शनिबार भने सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी कमै भेटिएका थिए ।

यसैगरी सरकारले तोकेको साविकको भाडादरमा ५० प्रतिशतभन्दा बढी भाडा लिने १३ वटा माइक्रो र ट्याक्सीलाई सवारी तथा यातायात व्यवस्था नियमावली अनुसार रु ५०० भन्दा बढी जरिवाना गरिएको छ । महाशाखाले शनिबार ८०४ सार्वजनिक सवारीमा अनुगमन गरेको थियो ।

आज सार्वजनिक सवारीमा बढी यात्रु चढेको भन्ने सूचना प्राप्त भएकाले मोटरसाइकलमा पनि अनुगमन टोली पठाइएको छ । टोलीले बढी यात्रुलाई सवारीबाट झारेर चिट काटी छाड्ने गरेको छ ।

सार्वजनिक सवारीले ५० प्रतिशतभन्दा बढी भाडा लिन बसभित्र स्यानिटाइजरलगायत सुरक्षा व्यवस्था मिलाएको हुनुपर्ने व्यवस्थाको पनि पालना भएको छैन । सार्वजनिक यातायातमा साबुन पानीले हात धुने व्यवस्था गर्न पानीको अभावका कारण कठिन छ । सार्वजनिक यातायातमा भीड बढेसँगै पुनःसङ्क्रमण बढ्नसक्ने खतरा देखिएको छ ।

सार्वजनिक यातायातमा सिट क्षमताको आधाभन्दा बढी यात्रु राखे, तोकिए भन्दा बढी भाडा लिएमा ट्राफिक प्रहरीको १०३ नं मा सम्पर्क गरेर उजूरी गर्न सकिन्छ।