जोखिमयुक्त ठाउँ सिल गरेर परीक्षण बढाउने सीसीएमसीको निर्णय

Health-Education

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको बैठकले कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।

आज बसेको सीसीएमसी निर्देशक समिति बैठकले लकडाउन खुकुलो भएपछि संक्रमण जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आवश्यकता अनुसार संक्रमण देखिएको ठाउँ सिल गरेर पीसीआर परीक्षण बढाउने बताउनुभयो । भदौ एक गते शुरु हुने सेवा क्षेत्र सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड तयार पार्न पनि बैठकले सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यका प्रवेश गर्नेहरुको पीसीआर परीक्षण गरिहेको सरकारले अब प्रवेश विन्दुमा नै क्वारेन्टिन व्यवस्थापन गर्ने भएको छ । बैठकले लक डाउन खुकुलो भएको केही दिनयताको परीक्षण नतिजा विश्लेषण गरी आगामी रणनीति तय गर्ने निष्कर्ष पनि निकालेको छ ।