कोरोना देखिएपछि ट्राफिक महाशाखा सिल, सवारी जाँच भने नरोकिने

News

काठमाडौंमा कार्यरत दुई जना  प्रहरीमा कोरोना देखिएपछि महानगरीय ट्राफिक महाशाखा कार्यालय सिल गरिएकाे छ। महाशाखाले दिएको जानकारी अनुसार संक्रमण पुष्टि भएका ट्राफिकलाई अस्पताल पुर्‍याइसकिएको छ। अहिले महाशाखामा काम गर्ने अधिकांश ट्राफिक प्रहरीलाई व्यवस्थापन गरिसकिएको महाशाखाले जनाएकाे छ।

महाशाखामा कार्यरत करिब ४ सय ट्राफिकहरुको नामवली संकलन गरेर पिसिआर गर्न आवश्यक तयारी गरिएको छ। ‘हामीले महाशाखामा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरीलाई ब्यारेक र महाशाखामा सुरक्षित राखेका छौं’, महाशाखाले भन्यो, ‘अहिले महाशाखाका सम्पूर्ण क्षेत्रमा दिनको दुई पटक डिसइन्फेक्सन छर्ने काम भइरहेको छ। अब केही दिनमा सबै जनाको पिसिआर जाँच गर्दैछौं।’ काेराेना परीक्षणकाे नतिजा आएपछि मात्र सिल हटाइने बताइएकाे छ।