कोरोना भाइरसको सङ्क्रमण पुनःबढ्दै गएपछि सरकारले आवतजावतमा कडाइ र आवश्यक परेमा लकडाउन सम्मको तयारी गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)निर्देशक समितिले काठमाडौँ आउने सवारी साधनहरूको कडाइ गर्न निर्देशन दिइसकेको छ।
पछिल्लो समय कोरोना सङ्क्रमित बढ्दै गएको र परिस्थिति काबुबाहिर गए लकडाउन गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म लकडाउनको तयारी छैन तर परिस्थिति भड्कियो भने जुनसुकै बेला हुन सक्ने मन्त्रालयले जनाएको छ। वीरगञ्ज लगायतका ठाउँहरूको घटनाले संवेदनशील बनाइरहेको समेत मन्त्रालयले जनाएको छ।
कोरोना विशेष अस्पतालहरूमा बिरामीका लागि थप ठाउँ समेत उपलब्ध छैन। कतिपय सङ्क्रमित घरमै बसेर उपचार गर्न बाध्य छन्। यसले उनीहरूका परिवार सदस्य लगायत अन्य मानिसमा जोखिम पैदा गराएको छ। वीरगञ्जको कोरोना विषेश अस्पतालमा बिरामी नअटाउँदा थप स्थानको खोजी समेत भइरहेको छ। चिकित्सकको एक टोली गएर त्यहाँको परिस्थितिबारे छलफल गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।