अबदेखि झाडापखाला लागेका बिरामीको पनि कोरोना परीक्षण गरिने

Health-Education

पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि झापापखाला लागेका बिरामीमा पनि कोरोना संक्रमण भए/नभएको परीक्षण गरिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि तेस्रो संशोधन निर्देशिका जारी गर्दै ज्वरो, कफ, श्वासप्रश्वास र झाडापखालाजस्ता समस्या भोगिरहेका तथा संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै व्यक्तिमा कोरोना परीक्षण गरिने जनाएको छ। साथै, बाहिरबाट आएर ५ देखि ७ दिनसम्म क्वारेन्टाइनमा बसिसकेका व्यक्तिहरूमा पनि परीक्षण गरिनेछ।

पछिल्लो समय समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको आंकलन भइरहँदा महामारीको अवस्था एकीन गर्नका लागि मन्त्रालयले तेस्रो पटक कोरोनाको पीसीआर परीक्षणसम्बन्धी नयाँ निर्देशिका जारी हो।

नयाँ निर्देशिकाअनुसार अबदेखि कोरोना संक्रमण भए/नभएको पत्ता लगाउन पीसीआर तथा एन्टीजेनमा आधारित द्रुत परीक्षण र निगरानी तथा खोजीको उद्देश्यका लागिसेरोलोजी परीक्षण विधि अपनाइनेछ।

कोरोना संक्रमितको उपचार र स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मी एवम् कर्मचारी, १४ दिन क्वारेन्टाइनमा बसी कोरोना संक्रमण उच्च रहेको क्षेत्रमा फर्केका व्यक्तिहरू,आइसीयुमा भएका सबै बिरामी र प्रतिरोधात्मक क्षमता कमजोर भएका (विशेषगरी ६० वर्ष उमेर पार गरेकाहरू र चिकित्सकीय मूल्याङ्कनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीहरु) को पनि पीसीआर विधिबाट स्वाब परीक्षण गरिनेछ।

स्थल तथा हवाईमार्गको प्रयोग गरी विदेशबाट आएका सबै मानिसहरूले अब कोरोना संक्रमण भए/नभएको पुष्टि गर्न परीक्षण गराउनुपर्नेछ। यसैगरी, चिकित्सकीय मूल्याङ्कनका आधारमा मध्यम, गम्भीर तथा अत्यन्त गम्भीर अवस्थाका कोभिड-१९ बिरामीलाई पनि डिस्चार्ज गर्नुअघि कोरोना परीक्षण गरिनेछ।

मन्त्रालयले जारी गरेको निर्देशिकामा कोरोना परीक्षणका लागि विभिन्न १० वटा मापदण्ड निर्धारण गरेको छ।