पोखरा १९ लामाचौरमा धर्मकै आडमा भिड जम्मा गर्दै आएका र कोरोना नलाग्ने र आफूले भगाउने दाबी गर्ने एकजनाको भने ज्यानै गएको छ। उनको ज्यान जानुको कारण अरु केही नभएर कोरोना भाइरस नै रहेको पुष्टि भएको छ। लामाचौरमा ६२ वर्षे उनले ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ चलाउँदै आएका थिए। केन्द्रमा उनले प्रवचन दिन्थे। ज्वरो र रुगाखोकी लागेकाले १६ असारमा आफैं अस्पताल पुगेका उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। त्यसयता पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचार गराइरहेका उनको शनिबार राति मृत्यु भएको पुष्टि अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले गरेका छन्। वृद्ध मधुमेहका बिरामीसमेत थिए।
पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलका अनुसार ती वृद्धको सच्चाई केन्द्रमा आउने गरेकाहरुको पनि कोरोना जाँच हुँदा ६ जनामा कोरोना पुष्टि भइसकेको छ। आफूमा कोरोना भगाउने शक्ति रहेको दाबी ती वृद्धले गर्दै आएको स्थानीयलाई उद्धृत गर्दै वडाध्यक्ष पौडेलले सुनाए। क्रिश्चियनहरुले धर्म प्रचारका लागि सच्चाई केन्द्र सञ्चालन गर्दै आएका छन्। मृत्यु भएका वृद्धका परिवार भने हङकङमा बस्दै आएको जानकारी पनि वडाध्यक्ष पौडेलले दिए। ‘उहाँ पनि प्राय हङकङ नै बस्नुहुन्थ्यो, यता त पर्यटक जस्तै’, उनले भने। लकडाउन नभएको भए पनि उनी यतिबेला हङकङ पुगिसकेको हुने पौडेलले सुनाए। मृत्यु भएका वृद्धको शव आइतबारै व्यवस्थापन भएको छ। प्रहरी, सेना, सशस्त्र प्रहरीसमेतको टोलीले वृद्धको शव पोखरा ३२ मजुवामा गाडेको हो। कोरोना संक्रमितको शव व्यवस्थापन कार्यविधि अनुसार स्थानीय तहले पहिचान गरेको त्यही ठाउँमा शव गाड्न लाग्दा स्थानीयले अवरोध गरेका थिए।