नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिङ्गल फेज मिटरलाई हटाएर स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ । स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने बाध्यता हट्ने छ । साथै, बिल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै काट्न सकिने छ ।
नेपाल विद्युत प्राधिकरणले आइतबार बाट ‘स्मार्ट मिटर’ जडान कार्य सुरु गरेको छ । देशभर अहिले झण्डै ५० लाख सिङ्गल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका ग्राहकको सिङ्गल फेज र थ्री फेज गरी झण्डै एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिने छ । स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने छैन ।
साथै बिल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिने छ । कसैले मिटर बाइपास गरी विद्युत चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुने विश्वास गरिएको छ । स्मार्ट मिटरमा एकीकृत लोडमात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमाण्ड चुहावट नियन्त्रण हुन्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटर जडान भएपछि विहान, दिउँसो र बेलुकीको समयमा फरक महसुल निर्धारण गर्न सकिने दावि गरे । विद्युत चुहावट कम हुने र महामारीको समयमा पनि अनलाइन मार्फत विल भूक्तानी लगायतका काम गर्न सकिने उनको भनाई छ ।
स्मार्ट मिटर जडान कार्यको उद्घाटन गर्दै उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राज्यका निकायले प्रवाह गर्ने सेवाको आधुनिकीकरण र चुस्तता कायम गर्नु भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्मार्ट मिटर जडानको सुरुवात एउटा कोशेढुङ्गा भएको बताए ।
सिङ्गल फेज स्मार्ट मिटर जडानको लागत झण्डै एक अर्ब रुपैयाँ रहेको छ । यसमा एसियाली विकास बैंकले सहुलितपूर्ण ऋण दिएको छ । काठमाण्डौ उपत्यकामा अहिले रहेका झण्डै चार लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न बोलपत्र प्रक्रिया अगाडि बढाइ सकिएको छ ।