चौरजहारी नगरपालिका, सोती घटना छानवीन संसदीय विशेष समितिको सिफारिस अनुरुप पश्चिम रुकुम सोती घटनाका मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने निर्णय भएको छ ।
यहि साउन २६ गते सोमबारको मन्त्रिपरिषद बैठकले पश्चिम रुकुमको सोतीमा भएको घटनामा हत्या गरिएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार १० लाखका दरले राहत दिने निर्णय भएको हो ।
गत जेठ २६ गते बसेको प्रतिनिधि सभाको बैठकको निर्णय अनुसार मा. देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय सोती घटना छानवीन संसदीय विशेष समिति गठन भएको थियो ।
समितिले गत असार ३० गते तोकिएको समयभित्रै एकमतले सभामुख अग्निप्रसाद सापकोटालाई पेश गरेको प्रतिवेदनमा घटनाबाट प्रभावित मृतकका आश्रित परिवारलाई क्षतिपूर्ति तथा शिक्षा, स्वास्थ्य,रोजगारी, सुरक्षा एवं भरणपोषणको पूर्ण प्रत्याभुति गरिनुपर्ने सिफारिस गरेको थियो ।
यस्तै घाईते युवाहरू, घटना र मुद्दाका विशेष साक्षी भएकोले उनीहरूको स्वास्थ्य उपचार, सुरक्षा तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन भनेको थियो ।
प्रतिवेदनको सिफारिस अनुसार नै सरकारले निर्णय गरेपछि समितिका संयोजक देवेन्द्र पौडेलले समितिले गरेको मिहिनेत नेपाल सरकारले पुरा गरेकोमा आभार प्रकट गरेका छन् । उनले समितिको टोली जाजरकोट पुग्दा भेरी नदिसँगै आँशुका बलिन्द्रधारा बगिरहेको स्मरण गर्दै सरकारी निर्णयले पीडित परिवारलाई केही राहत भएको टिप्पणी गरे ।
सदन नचलेको अवस्थामा संसदीय समितिले बुझाएको प्रतिवेदन सभामुखको आदेशानुसार कार्यान्वयनका लागि संघीय संसद सचिवालयले यहि साउन ८ गते मुख्य सचिव मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पठाएको थियो ।
सोहि प्रतिवेदनका आधारमा सोती घटनाका मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैंया राहत दिने निर्णय भएको पाइएको छ । समितिको प्रतिवेदनमा मृतकका परिवार आर्थिक, सामाजिक दृष्टिले अत्यन्तै कमजोर हुनुका साथै उनीहरूका कम उमेरका विधवा पत्नी र नाबालक सन्तान साथमा रहेकोले उनीहरूको भरणपोषण तथा जीविकोपार्जनका लागि तत्कालै विशेष व्यवस्था गर्न समेत सिफारिस गरेको थियो ।
सोहि प्रतिवेदनका आधारमा सोती घटनाका मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैंया राहत दिने निर्णय भएको पाइएको छ । समितिको प्रतिवेदनमा मृतकका परिवार आर्थिक, सामाजिक दृष्टिले अत्यन्तै कमजोर हुनुका साथै उनीहरूका कम उमेरका विधवा पत्नी र नाबालक सन्तान साथमा रहेकोले उनीहरूको भरणपोषण तथा जीविकोपार्जनका लागि तत्कालै विशेष व्यवस्था गर्न समेत सिफारिस गरेको थियो ।
सोती घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र संजीव विकको मृत्यु भएको थियो । यस्तै भेरी ११ का लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुमको चौरजहारी १ का टिकाराम नेपाली गरी छ जनाको मृत्यु भएको थियो ।
सो घटनामा भेरी ४ का लालबहादुर खड्का, मदन शाह, सरोज भडेल, आशिष विक, सुदिप खड्का घाइते भएका छन । यस्तै भेरी ३ का विभाग पुन, इन्द्रगंज शाही, भेरी १३ का भोला विसी, भेरी ११ का गोविन्द सुनार, भेरी ३ का महेश कार्की, सल्यानको कुमाख ४ का डिल्ली विक र बाँकेको राप्ती सोनारी ४ का सुनिल सुनार घाइते भएका छन ।