
ऋचा शर्मा तिवारी
वैदेशिक रोजगारिका लागी सुदूरपश्चिमका जनताहरुलाई भारतको उत्तराञ्चलको नैनीताल जिल्ला एउटा प्रमुख गन्तव्य बनेर रहेको छ । नेपालको सुदुरपश्चिमक्षेत्र संग सिमाना जोडिएको यो नैनीताल जिल्लामा विगत बीस वर्ष अगाडि देखि नै रोजगारीका लागी प्रमुख आर्कषणको केन्द्र बनेको छ ।
सबै नेपाली जस्ता देखिने कुमाउ, गढवालका पुर्खाली नेपालीहरु, सुदुरपश्चिमका नेपालीहरु सबैका अनुहार उस्तै उस्तै नेपाली झै लाग्यो तर तिनीहरुको नेपाली भएर पनि नेपाली भन्न नसकेको अवस्था पनि भेटियो । नैनितालमा मात्र ५ देखि १० हजारको हाराहारीमा नेपाली रहेका छन् भने अल्मोडामा ५ हजार, रानीखेतमा ५ हजार, गढवालमा ५ हजार जति अनुमानित नेपालीहरु रहेको जानकारी त्यहाँका नेपालीहरु बताउछन्। तपाई नेपाली हो भनी सोध्दा एकजना नेपाली दाईले नेपाली भएपनि नेपाली भन्न रुचाउनुभएन , जब मैले कारण सोधे उहाँले नेपाली भएपनि यसरी भारतमा आएर यहाँ काम गर्न परेको, आफनो देशमा काम नपाएकोले भारतीय सरकार नै राम्रो भन्न पनि पछि परेनन् ।
विशेष गरि चैत्रमा यहाँ काम गर्ने नेपालीहरु नेपालमा आफनो खेतीपातीको लागी जाने गरेको र मंसिरमा बाली भित्रयाएर पुःन काममा र्फकने गरेको सेती अञ्चल कैलाली जिल्लाका कामदार कन्द बहादुर विष्ट बताउछन् । यसरी काम गर्दा उनीहरु दैनिक आठ घण्टा , भारतीय रुपैया १ सय बीसको दरमा कहिले सिमेन्ट बोक्ने , रिक्सा चलाउने , कुल्ली काम, डकर्मी काम, बाटो बनाउने, होटलमा काम गर्ने आदि जस्ता काम गरेर आफनो जीवन विताउछन् र पैंसा कमाउने मेलो गर्दछन् ।कन्द बहादुर विष्ट भन्छन् पाखुरा चलाए काम छ, नत्र भए केहि काम पाइन्न, दुःख छ । तर आफुहरुलाई खान लाउन त्यति गाह्रो नभएको बताउछन् । जे काम पाए पनि गरिहाल्ने गरेकोले होला । रिक्सा चलाउनेको पनि क्रम अनुसार मात्र हुन्न्छ । जे मनलाग्यो त्यहि बेला पाइन्न, माइकिगं गरेर रिक्सा नम्बर बोलाएपछि मात्र चलाउन पाउने नियम रहेको बताउछन् । केहि समय यहाँबाट काम गरेर र्फकदा कतिपय नेपालीहरुले धेरैमा २,३ हजार भारु बोकेका हन्छन् ती सबै भारतीय सीमानामा नेपालीले नै लुट्ने गरेको तर नैनीतालमा भने नेपालीाई सुरक्षाको कुनै समस्या नभएको र केवल सीमा क्षेत्र असुरक्षित भएको उनले बताए ।त्यसै गरि सुदुरपश्चिम घर भएका प्रेम दमाईले आफुले त्यहाँ वि.स २०४० साल देखि ज्याला मजदुरी , मिस्त्री आदि जस्ता काम गर्दै आएको बताए , उनी भन्छन् घर जाँदा त कमाएको पैसा त भारतीय डाँकाहरुले लुट्ने गरेका छन् । अनी के घर जाने,कति पैसा लाने ? कमाएको पैसा खान लाउन पुग्दैन अनि के बचाउने?
त्यसो त कैलालीका डबल बुढाले नैनतालमा काम गरेको ७ वर्ष भयो , घरको आर्थिक अवस्थाले यहाँ आएको बताए , ३-४ महिना यहाँ काम गरेर आफु घर जाने , यहाँ विहान १० देखि बेलुका ५ बजे सम्म काम गर्ने , सञ्चो विसञ्चो पनि भन्न पाइन्न , आफु तल्लीताल भन्ने ठाउँमा काम गर्ने , खान लाउन पैंसा नपुग्ने बताए सके २ छाक खाने नत्र १ छाक मात्र खाने पनि गरेको र जीवन चलाएको बताए । त्यसो त ठेकेदारले विरामी पर्दा उपचारको लागि पैंसा नदिने भएकोले नेपाली साथीहरु संग सापट लिएर चलाउने गरेको पनि बताए ।
प्राय नेपाली मजदूरहरुले कोठा भाडा ५ सय देखि ८ सय भारु सम्म तिर्न पर्ने , कति त पैसा नभएर बाटोमा सुत्ने , खाना नखाने आदि समेत गरेको थाहा हुन आयो । जे जस्तो काम पायो त्यहि गरिहाल्ने , नत्र काम नपाइने । नेपालीहरुलाई नेपाल आउदा १००० भारु लाग्ने भएकोले कतिपयले बचाएको पैंसाले गाडीमा जाने गरेको र कतिपयले पैंसा नभएर त्यहाँबाट हिडेर वास वस्दै पनि नेपाल आउने समेत गरेको बताए । तर कति त बचाएको पैंसा लिएर जाँदा बाटामा नै लुटिने गरेको बताए । त्यसो त भारतीय प्रहरीहरुले नेपालीहरुलाई नेपाल भारतको सीमानाको बाटोमा सुरक्षाको नाममा कतिपयसंग घुस लिएर समेत काम गर्ने गरेको देखियो । तसर्थ यी सीमानाहरुलाई कसरी सुरक्षित मान्न सकिन्छ त ?
विहान १० बजे तिर म नैनीतालको किनारामा पुग्दा मैले नेपाली अनुहारको एक जमात भेटेको थिएँ र बेलुका काम सकेपछि नेपाली दाजुभाइहरु सबै विभिन्न चोक चोकमा जम्मा भएर बसेका थिए । मैले पुरानो बजारमा एउटा पसल अघि एक जमात नेपाली भेटेर बोल्न खोज्दा मलाई भारतीय पसलेले यसरी कुरा नगर्न भन्यो । म अचम्म परे त्यस बारेमा सोध्दा यसरी जमातमा पनि नँया मान्छे सँग बोल्दा शंका गर्ने रहेछन् ।
त्यसैले यी नेपालीको समस्या बुझ्ने कसले हो त ? सरकारले कि त हामीले ? यो वाध्यात्मक परिस्थिति को निर्माता नेपालको गरिबी हो र बेरोजगारी ,अशिक्षा नै हो भनी किटान साथ भन्न मिल्छ की ?