तीन नेताको भागबण्डा नमिल्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ

Politics

मन्त्रिपरिषद हेरफेरको विषयमा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दहाल प्रचण्डले सघन छलफल गरेका छन् । शीर्ष नेतृत्वदेखि चियापसलसम्म सम्भावित मन्त्रीको विषय चर्चा भइरहेको छ । अब छिट्टै हुने मन्त्रिपरिषद हेरफेरमा पनि गुटमा आवद्धता मुख्य मापदण्ड बन्ने निश्चित देखिएको छ ।

२०७४ साल फागुन ३ गते देशको कार्यकारी प्रमुखको सपथ लिएका प्रधानमन्त्री केपी ओली १२ औँ पटक मन्त्रिपरिषद हेरफेर गर्ने तयारीमा छन् । सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका ओलीले अर्का अध्यक्ष पुष्कमल दाहालसँग पछिल्लो हप्ता दैनिकजस्तो सघन छलफलमा छन् । यो पटकको हेरफेर पनि भागबण्डामै हुने निश्चित रहेको जानकारहरू बताउँछन् । यसअघि कुनै पनि दलको बहुमत नहुँदा दलीय आधार भागबण्डा हुन्थ्यो । अहिले नेकपा एक्लैको स्पष्ट बहुमत छ । सोही कारण दलिय होइन, गुटीय भागबण्डा मौलाएको छ ।

ओलीले सपथ लिएकै दिन २०७४ फागुन ३ मा पहिलो पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यसपछि दोस्रो पटक २०७४ फागुन १४ मा, तेस्रो पटक २०७४ चैत २ मा, चौथो पटक २०७५ जेठ १८ र पाँचौँ पटक २०७५ साउन १८ मा मन्त्रिपरिषद विस्तार गरेका थिए । यस्तै, छैटौँ पटक २०७५ फागुन १६ मा, सातौँ पटक २०७६ साउन १५ मा, आठौँ पटक २०७६ मंसिर ४ मा र नवौँ पटक २०७६ फागुन ५ मा हेरफेर भएको थियो । यस्तै १०औँ पटक २०७६ फागुन ११ मा र ११औँ पटक  २०७६ फागुन २१ मा मन्त्रिपरिषद हेरफेर भएको थियो । मापदण्डको आधारमा मन्त्रिपरिषद हेरफेर गर्ने निर्णय सत्तारुढ नेकपाको सचिवालय बैठकले गरेपनि मुख्य मापदण्ड गुटमा आवद्धता नै हुने पक्कापक्की छ । तर, नेकपा सांसद यसलाई स्वीकार्दैनन् । बरु, जीवन्त पार्टीमा छलफल, बहस र विचारमा पक्षविपक्ष हुनु स्वभाविक ठान्छन् ।

नेकपा सांसद टोपबहादुर रायमाझी व्यक्ति केन्द्रित नभइ मास्टर प्लानसहित देश विकासमा लाग्नुपर्ने बताउँछन् । विकास र समृद्धिको यात्रामा योगदान पु¥याउन झिनामसिना कुरामा अल्मलिन नहुने उनको दाबी छ ।

जतिसुकै नीति र विधिको कुरा गरेपनि नेकपामा मुख्यगरी, अध्यक्षद्धय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको भागबण्डाका आधारमै मन्त्रिपरिषद हेरफेर हुने निश्चित छ ।

कहिले–कहिले भयो मन्त्रिपरिषद हेरफेर ?

१. २०७४/११/०३

२. २०७४/११/१४

३. २०७४/१२/०२

 ४. २०७५/०२/१८

५. २०७५/०४/१८

६. २०७५/११/१६

७. २०७६/०४/१५

८. २०७६/०८/०४

९. २०७६/११/०५

१०. २०७६/११/०८

११. २०७६/११/२१