पैसा बाँड्दै, धर्म परिवर्तन गराउँदै आईएनजीओ

News

सांसदहरुले समाज कल्याण परिषद् पदाधिकारीहरूको कमाइखाने भाँडो बनेको आरोप लगाएका छन् । संसदीय समितिले पनि परिषद्मा भएका आर्थिक लगायत गतिविधिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमाथि छलफलमा सांसदहरूले समाजकल्याण परिषद् अन्तर्राष्ट्रिय संघसंस्थाको नियमनमा चुकेको आरोप लगाएका हुन् । उनीहरूले संघसंस्थाका नाममा सरकारलाई झुक्याएर बजेट लिएर बाँडफाँड गर्ने प्रवृत्ति कायम रहेको समेत दाबी गरे । सांसद नारायणप्रसाद खतिवडाले अन्तर्राष्ट्रिय संघ संस्थाले धर्म परिवर्तनका लागि लगानी गरिरहेको टिप्पणी गरे । आईएनजीओहरुले रकम बाँडेर धर्म परिवर्तनको काम गरिरहेको उनको आरोप छ ।

सांसद थममाया थापाले गैरसरकारी संघसंस्था राजधानी वरिपरि मात्रै केन्द्रित भएको बताइन् । उनले कार्यक्षेत्र, कार्यक्रम, पारदर्शिता, र अनुगमनको मापदण्ड बनाएर गैर सरकारी संघ संस्था नियमनमा ध्यान दिन आग्रह गरिन् ।

सांसद गंगा चौधरी सत्गौवाले जति पनि गैर सरकारी संघ संस्थालाई अनुमति दिएर परिषद्लाई कमाइ खाने भाँडो बनाएको आरोप लगाइन् । परिषद्ले संस्थाहरुको प्रतिवेदन, कार्यक्षेत्र अनुसार काम गरे/नगरेको विषयमा अनुगमन पनि गर्न नसकेको उनको भनाइ छ।

परिषद्का उपाध्यक्ष डा. पद्म प्रसाद खतिवडाले गैर सरकारी संघ संस्थाहरुलाई नियमन गर्ने उद्देश्यले नै उपसमिति गठन गरी काम शुरु गरेको जवाफ दिए । गैर सरकारी संस्थाहरुलाई पेश गर्ने परियोजनाको सूक्ष्म अध्ययन गरेर मात्रै अनुमति दिने गरी उपसमिति गठन भएको उनको भनाइ छ ।

कोषाध्यक्ष लोकनाथ सुवेदीले परिषद् आर्थिक रूपमा धराशायी बनेको स्वीकार गरे । छलफलपछि समितिले परिषद्लाई स्थापनादेखि अहिलेसम्म गैर सरकारी संस्थामार्फत सञ्चालन भएका योजनाका लागि स्वीकृत बजेटको सालगत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । समितिकी सभापति निरुदेवी पालले जमिन तथा भौतिक संरचना उपभोग गर्न दिएवापत प्राप्त हुने रकम प्रचलित दररेट भन्दा न्यून रहेकोलगयत विषयमा सत्यतथ्य जानकारी गराउन पनि निर्देशन दिएको जानकारी दिइन् ।