त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षा संकायको परीक्षा मिति सार्वजनिक गरेको छ । लकडाउनमा रोकिएको शिक्षा शंकायको परीक्षा मंसिर तेस्रो हप्तादेखि सुरु हुने भएको हो ।
त्रिवि शिक्षा संकायका सहायक डिन बलराम रायले सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तह (नियमति तथा आंशिक) सत्रान्तको परीक्षा सञ्चालन हुने बताएका हुन्।
उनका अनुसार स्नातकोत्तर तहको दोस्रो सेमेस्टरको परीक्षा मंसिर तेस्रो हप्ता हुने छ। स्नातकोत्तर तहको चौथो सेमेस्टरको परीक्षा मंसिर चौथो हप्ताबाट हुने छ। त्यस्तै स्नातक तहको आठौँ सेमेस्टरको परीक्षा मंसिर तेस्रो हप्ताबाट सञ्चालन हुने छ।
‘स्नातक तह प्रथम र छैटौं सेमेस्टरको परीक्षा पौषको पहिलो हप्ताबाट सञ्चालन गरिने छ,’उनले भने,‘खुल्ला तथा दूर सिकाइअन्तर्गत २ सेमेस्टरको स्नातकोत्तर (विज्ञान शिक्षा) प्रथम सेमेस्टरको परीक्षा भने पौष दोस्रो हप्ताबाट सञ्चालन हुन्छ।’
खुल्ला तथा दूर सिकाइ अन्तर्गत २ सेमेस्टरको स्नातक(सामाजिक अध्ययन शिक्षा) प्रथम सेमेस्टरको परीक्षा पुस दोस्रो हप्ताबाट सञ्चालन गरिने उनले बताएका छन्।