उपल्लो डोल्पामा खाद्यान्न संकटको खतरा : तत्काल खाद्यान्न ढुवानी गर्न माग

News

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तहमा तत्काल खाद्यान्न ढुवानी गर्न माग गरिएको छ । जिल्ला खाद्य सुरक्षा समितिको बैठकले हिँउदको समयमा हुनसक्ने खाद्यान्न संकटको खतरालाई मध्येनजर राख्दै उपल्लो डोल्पाका तीन स्थानीय तहमा कात्तिक महिना भित्रै खाद्यान्न ढुवानीका लागि माग गर्ने निर्णय गरेको हो ।

उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो,डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा कात्तिक महिना भित्रै स्थलमार्गबाट खाद्यान्न ढुवानीको व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरिएको जिल्ला खाद्य सुरक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले जानकारी दिनुभयो ।

‘कोरोना भाइरसका कारण चीनको स्वसासित क्षेत्र तिब्बत हुँदै उपल्लो डोल्पामा पर्ने मोरिम्ला र क्याटो नाकामा खाद्यान्न लैजान चीन���े भिसा दिएन्,सोही कारणले हिँउदको समयमा उपल्लो डोल्पामा खाद्यान्न संकट पर्ने खतरा रहेको  प्रमुख बुढाले बताउनुभयो ।

‘उपल्लो डोल्पामा पर्ने खाद्य संकटलाई मध्येनजर राख्दै कात्तिक महिना भित्र खाद्यान्न ढुवानीका लागि संघीय सरकार, प्रदेश सरकार, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रिय कार्यालय लगायतका सम्बन्धित निकायलाई अनुरोध गर्ने बैठकबाट निर्णय भएको छ ।

हिँउदको समयमा उपल्लो डोल्पामा भारी हिमपात हुने भएकाले सोही समयमा हवाई मार्ग बाहेक स्थलमार्गबाट खाद्यान्न ढुवानी गर्न सम्भव छैन,सोही कारणले तत्काल खाद्यान्न ढुवानी गर्न अनुरोध गर्ने निर्णय गरिएको बुढाले बताउनुभयो ।