आज राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती , राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन बल पुग्ने राष्ट्रपतिको विश्वास

News

राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका  सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविद्का रूपमा लिन सकिने राष्ट्रपतिको भनाइ छ । राष्ट्रपतिले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

फाल्गुनन्द जयन्तीले समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाजको निर्माण गर्नका लागि समाज सुधारका अभियानमा लाग्ने प्रेरणा प्रदान गर्ने कामना राष्ट्रपति भण्डारीको छ । किराँत धर्मावलम्बीका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत पूर्वी पहाडी जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरी हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ ।