हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आइतबार राती आगलागी हुँदा कम्तिमा सात जना नेपालीको मृत्यु भएको छ ।
तिहारको बेला भएको यो ठूलो दुखद घटनाले हङकङका नेपाली स्तब्ध भएका छन् । मृत्यु भएका ९ देखि ४० वर्षका चार पुरुष र तीन महिलाको सनाखत भइसकेको छैन । तर उनीहरू अधिकांश बागलुङ जिल्लाका हुन् ।
अस्पताल पुर्याइएका १८ जना घाइतेमध्ये सात जनाको मृत्यु भएको हो । दुई जनाको अवस्था अझै गम्भीर छ भने एक जनाको सामान्य अवस्थामामा उपचार भइरहेको छ । एक जना सामान्य उपचारपछि घर फर्केका छन् ।
साउथ चाइना मर्निङ पोष्टले जन्मदिनको पार्टी मनाइरहेको बेला आगलागी भएको समाचार दिएको छ । सो आगलागीमा परी १८ जना घाइते भएको र उनीहरुमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुलाई विभिन्न चारवटा अस्पताल लगिएको छ ।
सो अपार्टमेन्टमा नेपाली रेष्टुराँ सञ्चालनमा थियो तर दर्ता भने नगरी चलाइएको बताइएको छ। हङकङमा सन् २०११ मा आगलागीमा परी ११ जना मानिसको ज्यान गएको थियो । त्यस यताको यो नै सबैभन्दा ठूलो आगलागी भएको जनाइएको छ ।
हङकङ सरकारले आगलागीको कारण पत्ता लगाउन छानविन गर्न आदेश दिएको छ ।