सात दिनभित्र उखु किसानको रकम भुक्तानी गर्न उद्योग समितिको निर्देशन

News

संघीय संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी सात दिन भित्र गराउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको बैठकले सात दिन भित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उखु कृषकलाई सात दिनभित्र भुक्तानी गराउने काम सम्पन्न गरी यसको विवरण समितिमा उपलब्ध गराउन निर्देशन दिनुभयो ।

समितिको बैठकले देशभरका श्रमिकले पारिश्रमिक पाए नपाएको सम्बन्धमा अनुगमन र कारबाही गरी १५ दिन भित्रमा समितिमा प्रतिवेदन पेश गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।