नेपाल वायु सेवा निगमको एयरबस ३२० को यही फागुन १६ गतेको काठमाडौं–नयाँ दिल्ली उडानमा पाईलटको लापरवाही देखिएको भन्दै यात्रुहरुले गुनासो गरेका छन् । फागुन १६ गते विहान ११ः२० बजे काठमाडौंबाट नयाँ दिल्ली उडेको जहाज निर्धारित समयमा अवतरण हुन सकेन् । स्रोतकाअनुसार जहाजको गति बढि भएर ‘वार्निङ’ आएर यात्रुहरु आँत्तिएका थिए । यसरी जहाजमा गति बढि हुँदा वार्निङ आएर जहाजको संरचना नै बाधा पुग्ने विज्ञहरुको भनाई छ । यसमा सम्बन्धित निकाय (नेपाल एयरलाईन्स र सिभिल एभिएसन) ले यस्तो गुनासो आईसकेपछि जाँजबुझ गर्नुपर्ने पनि विज्ञको भनाई छ ।
जहाजमा सवार यात्रुका अनुसार जहाज निर्धारित समयमा अवतरण नगरी ‘आकाशमै धेरै नै तलमाथि’ गरी केही समय होल्ड गरेरमात्रै अवतरण गरिएको थियो । त्यस क्रममा उत्पन्न ककपिटको आवाज जहाजमा सवार यात्रुहरुले समेत महशुस गरेका थिए । र, उनीहरु अत्तालिएको बुझिएको छ । उक्त जहाजमा मुकेश कुमार गुप्ता र भावना गिरी पन्त पाईलट दिए ।
यात्रुले त पाईलटकै लापरवाहीको कारण आफूहरुले डरमर्दो अवस्था भोग्नुपरेको गुनासो पोखेका छन् । उनीहरुले यो घट्नाको बारेमा निगमले यथाशक्य चाँडो छानबिन गर्नुपर्ने पनि बताएका छन् । यात्रुमध्ये एकजनाले नाम उल्लेख नगर्ने शर्तमा भने–‘यस्तो लापरवाही त मैले पहिलोपटक भोग्नुपर्यो, यस्तै अवस्था रह्यो भने अबदेखि नेपाल एयरलाईन्समा यात्रा नगर्दा पनि हुन्छ ।’ उता नयाँ दिल्लीबाट काठमाडौं फर्किने निर्धारित समय दिउँसो १ बजे थियो । तर, साँढे चार बजेमात्रै काठमाडौंको लागि जहाज उडेको पाईएको छ ।
नेपाल एयरलाईन्स र सम्बन्धित पक्षले यात्रुको यस्ता गुनासालाई समयमै सम्बोधन गर्नुपर्छ । होईन, भने नेपाली आकाशमाथि युरोपियन युनियनले लगाएको प्रतिबन्ध कसरी हट्छ ? र, नेपाली राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाईन्सप्रति पनि कसरी विश्वास जाग्छ त ? यो अहिले अहम प्रश्नको रुपमा तेर्सिएको छ ।
– रिपोर्टर्स नेपाल डटकम बाट