पछिल्लो केही भएको मौसम परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र झाडापखालाका बिरामी बढेका छन्।
जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको संख्या बढेको हो। पछिल्लो केही दिनयता भाइरल ज्वरो र झाडापखालाका बिरामीको संख्या बढेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए।
यस्तै
‚ पाटन नगरपालिकाका पनि केही दिनयता भाइरल ज्वरोका बिरामीको संख्या बढेको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।
हाल दैनिक ३० जनासम्म ज्वरो‚ रुघाखोकीका बिरामी स्वास्थ्य संस्थामा आउने गरेका श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताए। उनले भने‚ ‘पहिलेको तुलनामा पछिल्लो समय बिरामीको संख्या बढेको छ।’
यस्तै‚ तल्लोस्वराड क्षेत्रमा पनि भाइरल ज्वरोका बिरामी बढेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। केन्द्रमा दैनिक १०० को हाराहारीमा ज्वरोका बिरामी आउने गरेका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए।
मौसममा आएको परिवर्तनले भाइरसहरु सक्रिय हुँदा भाइरल ज्वरो फैलिने र यसबाट बच्नका लागि सरसफाई र खानपानमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। भाइरल ज्वरोबाट बच्नका लागि उमालेको पानी मात्रै प्रयोग गर्ने, साबुनपानीले बेलाबेलामा हात धुनुपर्ने र तातो र झोलिलो खानेकुरा खानुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जोशीले बताए।