भारतको हरिद्वारमा जारी कुम्भ मेलाको शाही स्नानमा जान नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहका लागि विशेष रथको व्यवस्था गरिने भएको छ ।
श्रीपञ्चायती निरन्जनी अखडाका पीठाधीश आचार्य महामण्डलेश्वर स्वामी कैलशानन्द गिरीका प्रेस सल्लाहकार सगुन त्यागीका अनुसार मेला आयोजनास्थलबाट गंगातटको शाही स्थानस्थलसम्म जान पूर्वराजा शाहलाई यस्तो व्यवस्था गरिएको हो । ‘राजा ज्ञानेन्द्र विशिष्ट पाहुना हुनुहुन्छ, त्यही भएर उहाँका लागि रथ पनि विशेष किसिमको तयार पारिँदै छ,’ प्रेस सल्लाहकार त्यागीले भने । शाहको रथ आचार्य महामण्डलेश्वर गिरी र आनन्द अखडाका पीठाधीश आचार्य महामण्डलेश्वर स्वामी बालकानन्द गिरीको रथको पछि रहने उनले जानकारी दिए ।
मेलामा अखडाका पीठाधीश र विशिष्ट व्यक्तिहरू शाही स्नानस्थलसम्म जान विशेष किसिमले सजाइएको रथ प्रयोग गर्ने परम्परा छ । त्यागीले पूर्वराजा दम्पती आइतबार साँझ आचार्य महामण्डलेश्वरले दिने विशेष रात्रिभोजमा सहभागी हुनेसमेत बताए । मेलामा सहभागी हुन पूर्वराजा शाह र पत्नी कोमल बिहीबार नै दिल्ली आइसकेका छन् । उनीहरू शनिबार हरिद्वार जाने कार्यक्रम रहेको शाहसँगै भ्रमणमा रहेका उनका निजी सचिव सागरराज तिमिल्सिनाले जानकारी दिए । पूर्वराजा शाह आचार्य महामण्डलेश्वर स्वामी कैलशानन्द गिरीको विशेष निम्तोमा मेलामा सहभागी हुन लागेका हुन् ।