नेकपा एमाले नेता योगेश भट्टराईले पार्टीभित्रको विवाद समाधानमा सबै पक्षले इमान्दार हुँदै आत्मालोचना गर्नुपर्नेमा जोड दिएका छन् । माधव नेपाल र झलनाथ खनाल पक्षका नेता भट्टराईले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरी २०७५ जेष्ठ २ गते कायम रहेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आयोजना गर्न आग्रह गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख ६ गते पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएपछि भट्टराईले यस्तो आग्रह गरेका हुन् । ओलीले एमालेको पूर्ववत् कमिटीलाई महाधिवेशन आयोजक कमिटीका रुपमा रुपान्तरण गरेका छन् । त्यसको काउन्टरमा नेपाल र खनाल पक्षले केन्द्रीय कमिटी बाहेक अन्य तहमा समानान्तर कमिटी घोषणा गरेको छ । यस्तो अवस्थमा आफूबाट भएका गल्तीलाई सबैले दीलबाट स्वीकार गर्दै पार्टीलाई विधिसम्मत रुपमा संचालन गर्ने सबै तयार हुनुपर्नेमा उनको जोड छ । ‘बैठकमा खुला खुलस्त छलफल गरौ । षड्यन्त्र र छलछाम कसैले कसैमाथि नगरौ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आफूबाट भएका गल्तीलाई सबैले दीलबाट स्वीकार गरौँ । पार्टीलाई विधिसम्मत रुपमा संचालन गर्ने सबै तयार होऔँ। ’
महाधिवेशन र सबै तहका अधिवेशन आयोजना गर्दै स्वस्थ र पारदर्शी ढंगले लोकतान्त्रिक अभ्यास गर्ने र परिणाम सबैले स्वीकार गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
यस्तै पार्टीलाई एकताबद्ध राख्दै आउने निर्वाचनमा नेकपा एमालेको बहुमत ल्याउन सबैले कसम खानुपर्नेमा पनि उनले जोड दिए । उनले भनेका छन्, ‘जमिनमा टेकौँ र जनता तर्फ फर्कौँ । यसैमा छ सबैको भलो ।’