टेकुमा कोरोना संक्रमितको मात्र उपचार हुने

Health-Education

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड संक्रमितको मात्र उपचार गर्ने भएको छ। संक्रमितको संख्या बढन् थालेपछि अन्तरंग सेवा अन्तर्गत कोभिड संक्रमितको मात्र उपचार गरिने अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक सागर कुमार राजभण्डारीले कोरोना संक्रमितका बिरामीको संख्या बढेपछि संक्रमितको मात्र उपचार गर्ने निर्णय भएको जानकारी दिए। ‘मंगलबार मात्र २१ जना संक्रमित भर्ना भएका छन्’ राजभण्डारीले भने,‘कोभिडका बिरामीलाई अहिले अरु अस्पतालले भर्ना नलिने हुँदा सबै टेकुमा आउने गरेकाले शैय्या अभावमा अरू बिरामीलाई भर्ना नलिने निर्णय गरेका हौं।’ टेकु अस्पतालमा ५५ वटा शैय्या छन्।

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका अन्य भागमासमेत कोरोनाको संक्रमण बढेका कारण अस्पतालको अन्तरंग सेवालाई कोभिडको मात्र उपचार सेवा दिने गरी व्यवस्था गरिएको निर्देशक राजभण्डारीले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। भोलिदेखि फिबर क्लिनिक पनि सन्चालन गर्ने तयारी रहेको उनले बताए।

एचआइभी र एन्टी रेबिज भ्याक्सिन सेवा र बाह्य साधारण ओपिडी सेवा भने सन्चालनमै रहने अस्पतालले जनाएको छ। यसअघि अस्पतालमा कोभिड संक्रमितको मात्र उपचार गरिएको थियो। कोभिड संक्रमितको पहिलो उपचार केन्द्र हो।