नेपाल सुपर लिग : विजेता टोलीले ३५ लाख रुपैयाँ पाउने

Sports

नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको फ्रेन्चाईजी फुटबल नेपाल सुपर लिग (नएस्एल) को विजेता टोलीले ३५ लाख रुपैयाँ नगद पुरस्कार पाउने टुङ्गो लागेको छ।

भोलि (शनिवार) बाट शुरू हुन लागेको एनएस्एलको विजेताले प्राप्त गर्ने प्रथम पुरस्कार राशीको जानकारी आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आज (शुक्रवार) पत्रकार सम्मेलन मार्फत दिएको हो।

यसै गरी नेपाल स्पोर्ट्स म्यानेजमेन्टले उपविजेता टोलीले १५ लाख रुपैयाँ नगद पुरस्कार पाउने कुरा सार्वजनिक गरेको छ।

व्यक्तिगत विधा तर्फ प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट युवा खेलाडीले क्रमशः १-१ लाख रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गर्ने भएका छन्।

त्यसै गरी हरेक खेलको म्यान अफ दि म्याच र उत्कृष्ट युवा खेलाडीले क्रमशः २५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार थाप्ने कुरा पक्का भएको छ।

भोलिबाट शुरु हुने फुटबल लिगको पहिलो संस्करणमा ७ टोली प्रतिस्पर्धा गर्दै छन्, जसमा भोलिको पहिलो खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी फुटबल क्लब आमने सामने हुँदै छन्।

प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा खेलिने छन्। भोलिको पहिलो खेल नेपाली समय अनुसार बेलुकी ५:३० बजे शुरु हुने छ भने त्यसपछिका दिनहरूमा दैनिक २ खेल खेलिने छन्।

राउन्ड रबिनको फरम्याटमा खेलिन लागिएको सो प्रतियोगितामा कुल २५ खेल खेलिने कार्यक्रम रहेको छ। प्रतियोगिताको फाइनल खेल जेष्ठ १ गते खेलिने छ।