विश्व रेकर्ड कायम गर्ने लक्ष्यका साथ ‘नेपग्याजम कमेडी’ समूहले सगरमाथास्थित कालापत्थरमा स्ट्याडअप कमेडी प्रस्तुत गर्ने

News

नेपाली युवापुस्ता माझ चर्चित ‘नेपग्याजम कमेडी’ समूहले सगरमाथास्थित कालापत्थरमा स्ट्याडअप कमेडी प्रस्तुत गर्ने भएको छ ।

‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित नेपग्याजम मिडिया एण्ड प्रोडक्सन प्रालिले कार्यक्रम आयोजना गर्न लागेको हो। विश्व रेकर्ड कायम गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको यो कार्यक्रम आगामी वैशाख २० गते विश्वकै सबैभन्दा उच्च शिखर सगरमाथाको फेद कालापत्थरमा संचालन हुनेछ।

यसअघि इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले २५ अप्रिल २०१९ मा सगरमाथा आधारशिविर ५,२७० मिटरमा स्ट्यान्डअप कमेडी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए।

नेपग्याजमले पाउलोको यो रेकर्ड तोड्न ५,६४३ मिटरमा स्ट्यान्डअप कमेडी गर्न लागेको हो। त्यसका लागि आफ्ना दुई स्टयाण्डअप कमेडीयनलाई प्रस्तुत गर्नेछ । कमेडी प्रस्तुतीका लागि नेपग्याजमले गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट अनुमति समेत पाइसकेको छ।

नेपग्याजमका संस्थापक कलाकारद्वय उमेरकुमार गौतम (युकेजी) र लेखमणी त्रिताल (रमेश अंकलको छोरो)ले स्ट्याण्डअप कमेडी प्रस्तुत गर्नेछन् । उनीहरुले स्वस्थ मनोरञ्जनात्मक सामाग्री समेटिएको तीस-तीस मिनेटको दुईवटा स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने कर्यक्रम रहेको  छ।