प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदको दाबी गरेका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालकाअनुसार नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित ओलीले प्रधानमन्त्री पदको लागि दाबी गरेका हुन् ।
दाबी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेको उनले जानकारी दिए । जसपाका अध्यक्ष उपेन्द्र यादव र डा बाबुराम भट्टराई भने आफ्नो समूहको सदस्यको हस्ताक्षर बोकेर नेपाली काँग्रेससहित चार दलका १४९ सांसदको हस्ताक्षर बोकेर शीतल निवास गएका छन् ।