गृहमन्त्रीका पीएसओलाई गणमा थुनेर अनुसन्धान सुरु

News

नेपाल प्रहरी प्रधान कार्यालयले सुन तस्करसँग साठगाँठ गरेको आरोप लागेका गृहमन्त्रीका ‘पीएसओ’ वरिष्ठ नायव निरीक्षक (सिनियर सई) टंक कार्कीलाई एक नम्बर गणमा थुनामा राखेर अनुसन्धान सुरु गरेको छ ।
(सिनियर सई) कार्कीलाई हेडक्वार्टरसँगैको एक नम्बर गणमा थुनेर अनुसन्धान थालिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए । यसअघि भदौ ७ गते प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै कार्कीबारे मिडियामा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले सई कार्कीबारे अनुसन्धान भइरहेको र दोषी देखिए कारबाही हुने बताएका थिए ।  चितवन इच्छाकामना गाउँपालिकाका एक युवकलाई असार १६ मा गाडीसहित नियन्त्रणमा लिएर प्रहरीले गौशालाले वृत्त थुनेको थियो । तर, थुनामा रहेका व्यक्तिको गाडीमा रहेको ४ लाख रुपैयाँ उनै सई कार्कीले गायब बनाएको आरोप छ । थुनामा परेका व्यक्तिलाई सई कार्कीले धम्क्याएर रकम असुल्न खोजेको र निजकी आमालाई समेत विभिन्न त्रास देखाएको आरोप पनि छ ।

त्यसअघि दुबईबाट ५० ग्राम सुनसहित आएका ५ जना मानिसले सम्बन्धित व्यक्तिलाई सुन नदिएपछि सई कार्कीले सुन पठाउने मानिसको योजनाअनुसार सुन लिएका भनिएका ती व्यक्तिलाई नियन्त्रणमा लिएर असुलीको प्रपञ्च रचेको आरोप लागेको छ ।  मन्त्री खाणका पीएसओ रहेका वरिष्ठ सई कार्की मन्त्रीको अघि पछि हिँड्ने सुरक्षा समूहका सदस्य हुन् ।