पोखरा : चीनबाट शुरु भएर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस पोखरामा पनि देखिएको आशंका गरिएको छ। एक साता अघि अन्नपूर्ण सर्कीटको ट्रेकिङ सकेर पोखरा आएका चिनियाँ जोडीमा कोरोनाको भाइरसका संकेतहरु देखिएको छ।
लेकसाइडको स्वाकन इन्टरनेसनल हस्पिटलमा माघको ११ गते आइतवार बेलुकी चिनियाँ एक पुरुष र एक महिलामा सिजनल फ्लू देखिएको थियो। थप उपचार पद्धति नभएका कारण उनीहरुलाई मनिपाल अस्पतालमा रिफर गरिएको छ । यो जोडी चीनको युयान प्रान्तबाट १५ दिन अगाडिमात्रै नेपाल आएको हो।
तर, मनिपाल शिक्षण अस्पताल पोखराले सुरक्षा र गोपनीयताको कारण जनाउँदै यसबारे बताउन नमिल्ने जनाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालसहित ११ देशमा कोरोना फैलिएको जनाएको छ।
विश्वभर २ हजार ७ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ। जसमध्ये चीनमा मात्रै २ हजार ७ सय ४१ जना छन्।
चीन बाहिर ३७ जना मानिसमा कोरोना संक्रमणको पुष्टि हुँदा ३६ जना चीन ‘ट्रान्जिट’ बनाएर यात्रा गर्नेहरु छन्।