‘एनआईसी एसिया बैंक’ र ‘खल्ती’ बीच डिजिटल भुक्तानीका लागि सम्झौता

Economy

एनआईसी एसिया बैंक र खल्ती डिजिटल वालेट बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एनआईसी एसिया बैंकका तर्फबाट सीईओ रोशन कुमार न्यौपाने र खल्तीका तर्फबाट डाइरेक्टर अरविन्द साहले बैंकको थापाथली स्थित प्रधान कार्यालयमा आयोजित हस्ताक्षर समारोहमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।यस सम्झौता अनुसार अब एनआईसी एसिया बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । एनआईसी एसियाले बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि मूल नारासहित सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको छ ।
त्यस्तै, सन् २०१७ को जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या १० लाख भन्दा बढि रहेको छ ।