दक्षिण कोरियाका नेपाली कोरोनाका कारण त्रासमा

Health-Education International

दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि यहाँका नेपालीमा त्रास फैलिएको छ। बाहिर काम गर्ने नेपाली कामदारले असुरक्षित महसुस गरेका छन्। कोरियाको थेगु सहरबाट कोरोना संक्रमण फैलिएको हो।

ईपीएस मार्फत गएका कामदार र अध्ययन गर्न गएका विद्यार्थी गरी ६० हजारको हाराहारीमा नेपाली कोरियामा छन्। थेगु सहरमा धेरै नेपाली कामदार कार्यरत छन्। सोमबारसम्म कोरोना संक्रमणबाट दक्षिण कोरियामा ७ जनाको मृत्यु भएको र अहिलेसम्म ७६३ जना संक्रमण देखिएको छ ।

कोरियामा आप्रवासीको संख्या झण्डै २५ लाख छ। अहिलेसम्म कुनै मुलुकले आफ्ना नागरिकलाई स्वदेश फर्काएका छैनन्। चीन, जापान र थाइल्यान्डबाट कोरिया प्रवेश गर्न रोक लगाइएको छ।

कोरियाली सरकारले शनिबार नै सबै देशका दूतावासमा पत्राचार गरी आशंका लागेका नागरिकलाई स्वास्थ्य चौकीमा परीक्षणका लागि पठाउन अनुरोध गरेको छ। उसले उच्च तापक्रम देखिए जानकारी दिन तथा सावधानी अपनाउन अपिल गरेको छ। रोजगारदाता कम्पनीले नेपाली कामदारलाई सचेत रहन आग्रह गरेका छन्, नेपालीसहित विदेशी कामदारलाई कार्यालय तथा घरमा मास्क लगाएर बस्न निर्देशन दिएको छ। कोरियाली सरकारले आपतकाल घोषणा गर्ने संभावना रहेको छ ।

थेगुको एउटा चर्चबाट फैलिएको भनिएको कोभिड–१९ बाट ४ सयभन्दा बढी घटना फेला परेको छ। सिनेमा घर, चर्च, रेस्टुराँ र बजार जाँदा मास्क लगाउन आह्वान गरिएको छ। ‘हाइअर्लट’ मा रहेका कोरियाली चिकित्सक कोभिड–१९ संक्रमण रोक्ने भ्याक्सिन निर्माण तयारीमा जुटेका छन्।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सचेत रहन सिओलस्थित नेपाली दूतावासले आग्रह गरेको छ। दूतावासले वेबसाइटमार्फत विभिन्न कोरियाली निकायबाट प्राप्त सचेतना र सुरक्षा जानकारीलाई प्रचार समेत गर्दै आएको छ।