बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो । बिहान १० बजेदेखि आउनेजाने निम्तालुको लर्को चलिरहँदा १२ बजे आउने भनेका जन्ती आइपुगेनन् । आफूलाई इन्जिनियर बताउने वर आश्रेय बस्नेतले फोनमा आत्तिएको स्वर पारेर आफ्ना माइलो बुवा अचानक बितेकाले आउन ढिला भएको बताउँदै भने, ‘यताको तारतम्य मिलाएर जन्ती हिँड्छ ।’ सिनामंगल घर र आफूलाई डाक्टरको छोरा बताउने उनी दिन ढल्किँदा पनि जन्ती लिएर नआएपछि केटी पक्षमा हल्लीखल्ली मच्चियो । जन्ती आउने आसमा सिंगो दिन बिताएपछि केटी पक्ष सशंकित भयो । आफन्तले महानगरीय प्रहरी वृत्त बानेश्वरमा खबर गरे । १५ दिनअघि काठमाडौंकै एक भव्य होटलमा भएको टीकाटालोपछि सोमबार बिहेको मिति टुंगो गरिएको थियो । राति अबेरसम्म पनि न जन्ती न त केटा पक्षका कोही आफन्त उपस्थित नभएपछि केटी पक्ष घर फर्कियो । केटीका आफन्तका अनुसार बिहेको कुरा छिन्ने टीकाटालोमा पनि बस्नेत चारजना साथीमात्रै लिएर आएका थिए । आफन्तका अनुसार इन्गेजमेन्टमा चार तोला सुनका विभिन्न गहना केटा पक्षलाई दिइएको थियो । केटाले आफ्नो भनेको घर पनि हेर्न गएका केटी पक्षले उनका डाक्टर पितालाई भने भेट्न पाएका थिएनन् ।
बिहेका लागि खर्च भएको १५ लाख बाहेक विवाह अगावै केटी पक्षले पाँच लाखजतिको फर्निचर पनि दाइजो भन्दै दिएको थियो । केटाको भनिएको घरमा पुग्दा थाहा भयो, उनी त्यहाँ डेरा लिएर एउटा कोठामा बसेका रहेछन् ।विवाहको निम्तो कार्डका लागि केटाले दिएको बाबु र आमाको नाम पनि फर्जी भएको खुल्यो । केटाको वास्तविक नाम पनि साहिल बस्नेत रहेको प्रहरीले पत्तो पायो । भागेका दुलाहा बस्नेतलाई बुधबार पोखरा विमानस्थलमा प्रहरीले देख्यो । चेकजाँच गर्दा उनको साथबाट चार हजार अमेरिकी डलर बरामद भयो । विदेशी मुद्राको स्रोत नखुलेपछि प्रहरीले उनलाई काठमाडौंको साटो थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको बुटवल कार्यालय पठाएको छ । आफूलाई इन्जिनियर भने पनि बस्नेतको दाबी पुष्टि हुने आधार भेटिएका छैनन् । बस्नेतलाई आपराधिक विश्वासघात ठगीमा मुद्दा चलाउने तयारी भइरहेको छ,’ उनले कुन उद्देश्यले यस्तो षड्यन्त्र गरेको रहेछ भन्ने खुल्नै बाँकी छ । करिब १५ दिनअघि पनि विवाहको नाममा यस्तै प्रकृतिको ठगीको उजुरी प्रहरीमा आएको थियो । केटा, जन्ती, उनका आफन्त कोही नआएपछि विवाहको दिन केटी पक्ष प्रहरीमा आएका थिए । उनको भने अझै खोजी भइरहेको छ ।