काठमाडौं । कोरोना महामारीको सम्भावित खतरालाई मध्यनजर गर्दै नेपाली सेनाले Covid-19 Response App-Nepal मोबाइल एप प्रयोगमा ल्याएको छ । उक्त मोबाइल एपबाट सर्वसाधारणले आफ्नो परिवार, छरछिमेक तथा साथीभाईमा कोभिड–१९ सम्बन्धी लक्षण देखिने विवरण पठाउन मिल्ने व्यवस्था गरिएको छ । साथै यस विपदको घडीमा जनमानसमा विभिन्न किसिमका अफवाहहरुको फैलावट रोक्न र नेपाली सेनाको आधिकारिक सूचना प्रवाह गर्न समेत यो मोबाइल एपले सहयोग पुर्याउने विश्वास नेपाली सेनाले लिएको छ ।
सेनाको वेभसाइट www.nepalarmy.mil.np बाट उक्त मोबाइल एप डाउनलोड गर्न सकिने समेत जानकारी दिइएको छ । हाललाई भने यो एप एनरोइडको लागि मात्र तयार गरिएको र केही दिनमै IOS का लागि समेत तयारी गरिने सेनाले जनाएको छ । एपमा प्रयोगकर्ताले आफ्नो परिवार, छरछिमेक तथा साथीभाईलाई कोरोना सम्बन्धी कुनै लक्षण देखिएमा बिरामीको व्यक्तिगत विवरण तथा लक्षण विवरण उपलव्ध गराउन सक्ने सेनाले जनाएको छ ।