spain

कोरोना बिरामी उपचार गर्न नमानेपछि स्पेनका सम्पूर्ण नीजि अस्पताल राष्ट्रिय स्वास्थ्य प्रणाली अन्तर्गत

Health-Education International

स्पेन सरकारले सम्पूर्ण नीजि स्वास्थ्य संस्था अस्थायी रुपमा राष्ट्रियकरण गरेको छ ।

कोरोनाभाइरस तीब्र गतिमा फैलिरहेको अवस्थामा नीजि अस्पतालहरुले उपचार गर्न आनाकानी र लापर्वाही गरेपछि स्पेन सरकारले सम्पूर्ण अस्पतालहरुलाई अस्थायी रुपमा राष्ट्रियकरण गरेको हो ।

कोरोनाभाइरसविरुद्ध लड्न सम्पूर्ण अस्पतालहरुलाई राष्ट्रियकरण गर्न आवश्यक भएएको स्पेन सरकारले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री पेन्ड्रो सान्चेजको निर्देशनमा स्वास्थ्यमन्त्री साल्भाडोर ईलाले सबै नीजि अस्पतालहरु राष्ट्रियकरण गरेको घोषणा गरेका हुन् । साल्भाडोरले कोरोनभाइरसको संक्रमणलाई सार्वजनिक नियन्त्रणमा राख्न नीजि अस्पतालाई राष्ट्रियकरण गरेको बताएका छन् ।

सो घोषणासँगै स्वास्थ्यमन्त्री साल्भाडोरले स्पेनमा मेडिकल अध्ययनरत चौथो वर्षका विद्यार्थीलाई पनि देशको स्वास्थ्य सेवामा सहयोग पुर्याउन आग्रह गरेका छन् । स्पेनमा कोरोना तीब्र रुपमा फैलिरहेको छ ।

नेपालमा आफूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा दिइरहेको बताउँदै आएका अस्पतालहरुले समेत कोरोनाका बिरामीको सामान्य चेकजाँच समेत गर्न मानेका छैनन् । उनीहरुले खुलेरै कोरोनाका बिरामीको उपचार नगर्ने बताइरहेका छन् । कोरोना त के अहिले सामान्य ज्वरो आएका बिरामीलाई समेत नीजि क्षेत्रका अस्पतालहरुले भर्ना गर्न मानिरहेका छैनन् । के नेपाल सरकारले पनि स्पेनको जस्तै कदम चाल्न सक्छ भन्ने प्रश्न गम्भीर भएर आएको छ ।