बर्दिया । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरे पनि बर्दियाका कृषकले चैतेधान रोपेका छन्। चैतेधान रोपाइँ गर्न लकडाउनले कुनै समस्या नभएको राजापुर क्षेत्रका कृषक बताउँछन्।
राजापुर क्षेत्रका गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा आर्थिक वर्ष २०७३÷०७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान जोन र ०७५/०७६ देखि निश्चित क्षेत्र बनाएर चैतेधानको खेती गरिँदै आएको छ । राजापुर क्षेत्रमा २०७३ सालदेखि तत्कालीन कृषि बिकास कार्यालयले पकेट क्षेत्र बनाएर परीक्षणका रुपमा चैतेधान खेतीको शुरुआत गरेको थियो।

धान राम्रो उत्पादन हुने देखिएपछि धान सुपर जोन घोषणा गरी किसानको समूह बनाएरै रोपाइँ गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनामार्फत सरकारले आवश्यक सहयोग गर्दै आएको छ । परियोजनाले किसानको सहभागितामा धान सुपरजोन सञ्चालक समिति बनाएर काम गरिरहेको छ। लकडाउनका समयमा घरका परिवारका सदस्य जम्मा भएको हुँदा काम गर्न सहज भएको कृषक बताउँछन् । गत वर्ष पाँच सय हेक्टर क्षेत्रमा लगाइएको चैतेधान २५ हजार क्वीन्टल उत्पादन भएको थियो । यस वर्ष राजापुर क्षेत्रका दुई स्थानीय तहमा चैतेधान रोपाइँ भएको छ ।