सञ्चयकोषले संचालन गरेको विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने व्यवस्था

Economy

काठमाडौं, जेठ ११ः कर्मचारी सञ्चय कोषले संचालन गरेका सेवामध्ये विशेष सापटी सेवा हाललाई अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ ।

कोभिड-१९ का कारण कोषका सेवा बन्द भएपछि भोलि आइतबारदेखि अनलाइनमार्फत विशेष सापटी सेवा भने सञ्चालन गर्ने तयारी गरिएको कोषले जनाएको छ ।

कोषका अनुसार हाललाई यो सेवा विशेष सापटी लिन योग्यता पुगेका र केवाइसी अपडेट गरेका सञ्चयकर्ताले प्राप्त गर्न सक्नेछन । त्यसका लागि सञ्चयकर्ताले कोषको वेबसाइटमा गएर अनलाइन फाराम भरी सोसँगै विशेष सापटीको आवेदन फाराम भरी स्क्यान कपी अपलोड गरेर पठाउनुपर्ने हुन्छ ।

कोषले सो आवेदन फारामलाई रुजु गरिसकेपछि सम्बन्धित सञ्चयकर्ताको बैंक खातामै रकम जम्मा गरिदिनेछ । यसैबीच कोषले लकडाउन खुकुलो हुनेबित्तिकै कोषका कार्यालयहरुमार्फत अन्य सेवाप्रवाह हुने गरी तयारी गरिएको जनाएको छ ।