२०७७ जेष्ठ १४ : काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँगको विवादका विषयमा जानकारी लिएका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र सिडिएस जनरल बिपिन रावतबाट मोदीले पछिल्लो अवस्थाका विषयमा गएराती जानकारी लिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सिडिएस जनरल रावतले तीनवटै सेनाको तर्फबाट सीमा क्षेत्रको वर्तमान अवस्था र समस्या समाधानका लागि अपनाउनु पर्ने भूमिका तथा सैन्य तयारीका विषयमा खाका पेश गरेका छन् ।
मंगलबार बेलुकी प्रधानमन्त्री कार्यालयमा लद्दाखको अवस्थामा तीनवटै सेनालाई विकल्प सुझाउन आग्रह गरेका थिए । तीनवटै सेनाको तर्फबाट लद्दाखमा चीनसँग भइरहेको झडपको अवस्थाको विस्तृत विवरण मोदीलाई दिइएको छ ।
तीनवटै सेनाले लद्दाखको वर्तमान अवस्थालाई ध्यान दिएर ब्लूप्रिन्ट प्रधानमन्त्री मोदीलाई बुझाएका छन् । रावतले सेनाको तर्फबाट भइरहेको तयारीका विषयमा प्रधानमन्त्री मोदीलाई जानकारी गराएको इन्डिया टुडेले जनाएको छ ।
लद्दाखको सीमावर्ती क्षेत्रमा चीनले ५ हजार भन्दा धेरै सैनिकको उपस्थिति बढाएको छ । त्यहाँ भारतीय र चिनियाँ सेनाबीच पटक पटक झडप भइरहेको छ । भारतले सामरिक महत्वको उक्त क्षेत्रमा सडक बनाउने र एक चीन नीतिविरुद्धका क्रियाकलाप गरेको चीनको आरोप छ ।
भारतले अन्तर्राष्ट्रिय कानुनविपरितका क्रियाकलाप गरेकाले सैह्य नहुने चीनको प्रतिक्रिया छ । भारतले पनि पछिल्ला दिनमा थप सैन्य टुकडी पूर्वी लद्दाख क्षेत्रमा खटाएको छ । यसले दुवै देशबीचको विवाद उत्कर्षमा पुगेको छ ।