ओली – प्रचण्ड भेटवार्ता,भोली साढे नौ बजे सचिवालय बैठक

Politics

२०७७ जेष्ठ १६ : काठमाडौँ – प्रधानमन्त्री तथा नपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ करीब डेढ घण्टा भएको भेटवार्तामा समसामयीक राजनीति बारे चर्चा भएको बताइएको छ । दुई अध्यक्षले भोली शनिबार बिहान साढे नौ बजेका लागि पार्टीको सचिवालय बैठक आयोजना गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।

‘अहिलेका समसामयिक विषयमा आज दुई अध्यक्षबीच छलफल भएको हो, भोली साढे नौ बजे बस्ने सचिवालयका एजेण्डाबारे पनि छलफल भयो’, श्रेष्ठले बताउनु भयो ।

बिहीबार अर्थमन्त्री डा। युवराज खतिवडाले प्रस्तुत गरेको बजेटले समाजवाद उन्मुख बाटो समातेको भन्दै अध्यक्ष प्रचण्डले खुशी व्यक्त गरेका थिए ।

पार्टीको स्थायी समिति बैठक पन्छाएर सरकारको नीति तथा कार्यक्रम, बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री ओली अब लिम्पियाधुरासम्मको भूभाग समेटेर जारी गरिएको नेपालको नयाँ नक्सा अनुसार संविधान संशोधनको तयारीमा छन् । त्यस लगत्तै अमेरिकी परियोजना एमसीसी संसदमा प्रवेश गराउने तयारी बालुवाटारले गरिरहेको स्रोतहरूले जनाएका छन्, जसमा पार्टीभित्रै विवाद रहेको छ ।

बिहीबार नै राजपाका नेता महन्थ ठाकुरले संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता गर्न खोजेपछि संविधान संशोधन गर्ने सरकारको प्रस्तावमाथि चुनौती थपिएको देखिएको छ । शनिबार बिहान बस्ने सचिवालय बैठकले यिनै एजेण्डामा छलफल गर्ने बताइएको छ ।