१६ साउन १९९६ मा काठमाडौंको कमलपोखरीमा जन्मेका थिए रत्नशमशेर। परिवार ठूलो थियो। बुबाका सात दाजुभाइ थिए। उनी माइलाको सन्तान। परिवारको चाहना थियो, छोरा डाक्टर वा इन्जिनियर बनोस्। तर, उनको रूचि गीत-संगीततिर थियो। बुबा पढ्न प्रेरित गर्थे। तर, घरको माहाेल नै सांगीतिक थियो। उनी किताबका पानामा भन्दा बढी काका र दाइहरूले घरमा जमाउने मेहफिलले रम्न थालेका थिए। एकजना काका राग गाउने, अर्काे तबला बजाउने, अनि काका छोरा हाम्रोनियम बजाउने गर्थे। काकाले तबला बजाएको देखेरै सिके रत्नले पनि। मेहफिलको टुंग्याउनीतिर उनले तबला बजाउने पालो पाउँथे। घरमा उनको नाम नै राखिएको थियो, सानो उस्ताद।
यसरी घरैबाट संगीतको रस परेको थियो उनमा। संगीतले साहित्यतिर डोर्यायो। १०-११ वर्षकै उमेरदेखि नै कविता र गीत लेख्न थाले उनले। दशैंको बेला साहित्यमा रूचि राख्ने पाँच-सातजना बसेर कोठेगोष्ठी पनि गर्थे। तिनै गोष्ठीबाट जन्मेको थियो, ‘विछोडको पीडा नसकी खप्न दशैंको बेलामा/तिमीलाई भेट्न आउँदै छु फर्की रमाइलो गाउँमा।’
‘उनैको जित सही कसैको बैरी बन्दिनँ
म पिउनु परे विष पनि पछाडि हट्दिनँ
काथर भई मृत्युसित मर्न सक्दिनँ
गाउँछु एक घडी प्यार मेरो सम्हालिन्छ’
गीत नै यस्ता लेख्थे उनी। अनि त कसैले उनलाई घमण्डी भने, कसैले अभिमानी। तर, रत्नशमशेर थापाले आफूलाई सधैँ ‘स्वाभिमानी’ भनेर चिनाए। कसैसँग नडग्ने उनको स्वभाव थियो। उनी भन्थे, ‘जे सही हो, त्यो बोल्छु। कसैलाई रिझाउन वा खुशी पार्न केही भन्दिनँ। त्यसैले घमण्डी भनेका होलान् नि।’ ती स्वाभिमानी गीतकार अब भौतिकरूपमा हामीसँग रहेनन्। ‘
१४ जेठमा मध्यान्ह १२ बजेतिर नर्भिक अस्पतालमा ८१ वर्षको उमेरमा अन्तिम सास फेरे।
पहिलो गायनमै यो गीतले रत्नलाई अवार्ड दिलायो। गीत-संगीत र साहित्यमा रूचि भए पनि उनी बुबाको इच्छा पूरा गर्ने सोचमा थिए। डाक्टर वा इन्जिनियर बन्ने उद्देश्य राखेर विज्ञानको विद्यार्थीको रूपमा भर्ना पनि भएका थिए। तर, स्वास्थ्यले साथ दिएन। कक्षामा नियमित हुन नसकेपछि बुबाको रहरको बाटो छोडेर आफ्नै रहर पछ्याए। २०१६ सालमा त्रिचन्द्रमा आईए भर्ना भए। कलेजमा उनको संगत नारायणगोपाल, नातिकाजीहरूसँग हुन थाल्यो। सबैको रूचिको क्षेत्र एउटै भएकाले दोस्ती बलियो बन्यो। सँगै बसेर गीत लेख्ने, गाउने अभ्यास हुन थाल्यो।
त्रिचन्द्रमै छँदा उनले के मात्र लेखेनन् ? कथा लेखे। रचे कविता। बनाए मुक्त। समालोचनाबाहेक साहित्यका सबै विधामा कलम चलाए। उनले लेखेको नाटक ‘चर्केका बिम्बहरू’ नाटक विश्वविद्यालयदेखि विभिन्न ठाउँमा मञ्चन भयो। तर, उनी जमे गीतमा। उनलाई लाग्थ्यो, धेरैतिर हात हाले कुनैमा पनि सफल भइन्न। साथीभाइ र शुभचिन्तकले पनि सल्लाह दिन्थे, “धेरैतिर हात हाले सफल भइन्न। एउटामा लाग, दत्तचित्त भएर लाग। सफलता पाउनबाट कसैले रोक्न सक्दैन।”
उनको गीत रचनालाई संगतले साथ दिएको थियो। त्रिचन्द्रमा भर्ना भएकै साल वार्षिकोत्सवमा नारायणगोपालले उनका दुई गीत गाए- ‘स्वर्गकी रानी’ र ‘सुखसमृद्धिको लहराई नेपाल हाम्रो फलोस् फुलोस्’। यी गीतले नारायणगोपालसँगै उनलाई पनि हिट बनायो। त्यसपछि नारायणगोपालको पहिलो अल्बमका लागि उनका ६ वटा गीत रेकर्ड हुने भए। कलकत्तामा यी दुई गीत सँगै ‘भो भो नसोध’, ‘आँखाको भाका आँखैले’, ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘कुञ्जमा गुञ्जियो’, ‘बिछोडको पीडा नसकी खप्न’ गीतहरू रेकर्ड भए। नेपाली सांगीतिक जगतमा यी गीतहरूले रत्नका साथसाथै नारायणगोपाललाई पनि स्थापित बनाइदियो। ‘ए कान्छा ठट्टै मा यो बैंश जान लाग्यो…’ गीत त रेडियो नेपालमा तीन वर्षसम्म सबैभन्दा बढी फर्माइसमा परेको गीत थियो।
त्यसताका रेडियो नेपालमा नेपालीगीतको अभाव थियो। हिन्दी गीत मात्रै धेरै बजाइन्थ्यो। नेपाली गायक गायिकाले पनि हिन्दी गीत गाउँथे। मिहिनेत गरेर गीतमा ध्यान पुर्याएर लेख्यो भने नेपालमा पनि राम्रा गीत संगीतको भण्डार हुन सक्नेमा रत्न ढुक्क थिए। त्यसैले उनले नेपाली गीतसंगीतमा नयाँ–नयाँ प्रयोग गर्न थाले। गीतमै नयाँ विचार पोख्न थाले। र, त एकपछि अर्काे सफलता मिल्दै गयो। सफलताले लेख्ने प्रेरणा पनि बढाउँदै लग्यो।
रत्न र नारायणगोपालको सहकार्यले लोकप्रियता हासिल गर्दै लगेको थियो। तर, त्रिचन्द्रबाट बीए पास गरेपछि नारायणगोपाल शास्त्रीय संगीतको अध्ययनको लागि भारत गए। रत्न भने केन्द्रीय क्याम्पसमा अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्न भर्ना भए। उनीहरूको भेटघाट र सहकार्य रोकियो। तैपनि रत्नको साधना र गति रोकिएन। भन्नेहरूले त नारायणगोपालले गाएकैले रत्न शमशेर चम्किएको हो भन्थे। तर, रत्न ठाडै अस्वीकार गर्थे। ‘नारायणगोपालसँग छुट्टिएको चालिसौँ वर्षपछि पनि म हराइनँ। किन ? मेरो सिर्जनाको शक्तिको कारण हो’, उनको तर्क रहन्थ्यो।
नारायणगोपालसँगको सहकार्य छुटे पनि गीत रचना कहाँ छुटेको थियो र आखिर ? उनका गीतहरू प्रेमध्वज प्रधान, नातिकाजी, दीप श्रेष्ठलगायतले गाए। ती गीतहरू पनि चर्चाको उच्च शिखरमा पुगे। नारायणगोपालले नै गाएर चलेको भन्नेहरूका लागि यो नमीठो झापड थियो।
रत्नमा वाद्यवादन गर्ने र गाउने सीप थियो। त्यसैले उनी संगीत र सुरतालसँग निकै परिचित थिए। ट्युनमा पनि लेख्न सक्ने गीतकार पनि हुन् रत्न। अमर गुरूङसँगका कतिपय गीत उनले हमिङको भरमा लेखेका छन्। अम्बर गुरूङको क्वाएर र क्यान्टाटाको संगीत सुनाएकै भरमा त्यसमा शब्द रच्ने काम रत्नले गरेका छन्। संगीतकारसँगै बसेर लेख्ने क्रममा उनी मेलोडी कसरी निकाल्न सकिन्छ भनेर अम्बरलाई सुझाव दिन्थे।
रत्नका सबै गीत सर्वस्वीकार्य भने थिएनन्। पञ्चायती कालमा उनले रचेका कति गीत त सरकारका लागि अपाच्य थिए। बिनाकारण उनका कतिपय गीत प्रतिबन्धित भएका थिए। त्यतिबेला नातिकाजी गीतसंगीतको जाँच गर्ने पदमा पुगेका थिए। उनले आफ्नो गीत प्रतिबन्ध लगाएपछि सोधेका पनि थिए। तर, उपयुक्त जवाफ पाएनन्। त्यसरी प्रतिबन्धित हुनेमध्ये एउटा ‘माग्नेको गीत’ थियो। त्यो गीत पछि शिशिर योगीले आफ्नो अल्बममा समेटेका छन्। उनी भन्थे,“कारण त हुनुपर्यो नि ब्याण्ड गर्न। मेरो गीत व्यवस्था विरोधी भयो कि ? राजाविरोधी भयो कि ? के भयो उत्तर दिनुपर्छ भनेर मेरो नातिकाजीसँग बहस पनि भएको थियो।”
शुरूमा त रत्नलाई चर्चा, परिचर्चाको लोभ थिएन। त्यसैले त उनले आफ्नो पहिलो कविता आरएस ‘मधुर’को नाममा छपाएका थिए। उनी भन्थे, “मलाई लाग्थ्यो, मलाई कसैले नचिनोस्। मेरो रचना पढेर मलाई खोजोस् भन्ने लाग्थ्यो।”
पैसाको पनि खासै महत्त्व हुँदैनथ्यो उनलाई। रोयल्टी समाजको पहिलो अध्यक्ष पनि भए। तर, उनी आफैंले पनि रोयल्टी पाउन सकेनन्। अरू संगीतकर्मीले त झनै रोयल्टी पाएनन्। यसबाट आजित भएर उनले त्यो पद नै छोडिदिए।
आफूलाई लेख्न चाहने विषयमा लेख्थे उनी। पैसाको अफर जति नै गरे पनि उनलाई रूचि नभएको विषयमा लेख्दैनथे उनी। उनलाई लाग्थ्यो, पैसा खान पनि मिल्दैन। बाँच्नको लागि ठिक्क भए पुग्छ। र, आफूले पहिले बनाएको आफ्नै स्ट्याण्डर्ड पैसाको लागि घटाउन हुँदैन। त्यसैले उनलाई आउने आउने अफरहरू उनी सीधै अस्वीकार गरिदिन्थे। उनी भन्थे, “पैसाको पछि लागेको भए म यस्तो हुन्नथेँ। पैसाको लागि मेरो स्ट्याण्डर्ड घटाएर लेख्ने गरिनँ। तर, राम्रो लागेको विषयमा मैले सित्तैमा पनि गीत लेखिदिएको छु। घमण्डी भनोस् या अभिमानी, मलाई मतलब लागेन। म स्वाभिमानी हुँ। मलाई सही लागेको काम मात्रै गर्छु, त्यसमै खुशी मिल्छ।”
हो त, हरेक गीतमा आफ्नो स्ट्याण्डर्ड कहिल्यै छोडेनन् रत्नले। र त नेपाली संगीताकाशमा रत्न बन्नपुगे। अब त उनका नयाँ गीत पनि आउनेछैनन्। तर जति गीत हामीलाई छोडिगएका छन्, काफी छन् एक युगसम्म गुनगुनाउनका लागि। जब-जब कुनै एकलास गोरेटोहरूमा एक्लै हिँडिरहेको हुन्छौं, नजानेरै पनि उनकै गीत गुनगुनाउनेछौं-
‘एकलास वनमाझ देखिने बाटो आज
अल्मलिएँ लौन म त
आवाज नपाई मायालु तिम्रो
वनभित्र थाके नि
पैल्याउन सकिनँ
पैल्याउन मैले सकिनँ
गोरेटो त्यो गाउँको लौन आज
खोजी खोजी थाकेँ नि
पैल्याउन सकिनँ
पैल्याउन मैले सकिनँ
(देखापढिबाट साभार)