आईतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सरिता गिरीले नेपालको दक्षिणतिर भारतीय सीमा नजिक नेपाली सेनालाई राख्ने निर्णयप्रति आपत्ति जनाइन् ।
सरकारले बाराको पथलैयामा नेपाली सेनाको ठूलो ब्यारेक राखेकोमा सांसद गिरीले आपत्ति जनाएकी छन् । उनले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको नाममा नेपाली सेनाको एयर बेस बनाउन लागेको भन्दै विरोध जनाइन् ।
राष्ट्रिय सुरक्षाको विषयमा कुरा गर्न लागेको बताउँदै सांसद गिरीले सेनालाई बंकरबाट निकालेर कहाँ लैजान लागेको भन्दै प्रश्न गरिन् । ‘सेनालाई दक्षिणी सीमामा लैजाने कि उत्तरीमा सीमामा ?’ उनले प्रश्न गरिन्, ‘चीनले ३५ हेक्टर जमिन कब्जा गरेर राखेकाले उत्तरमा सेनाको पोष्ट बनाइन्छ ?’
निजगढ विमानस्थल बनाउन लागेको भनेर प्रचार गरेपनि त्यसमा सत्यता नभएको र नेपाली सेनाको एयर बेस बनाउन लागिएको उनले दाबी गरिन् । ‘बजेटमा सेनाको लागि एयरबेस बनाउने भन्ने कुरा आएको छ । कहाँ बनाउने त्यसमा मौन छ तर मलाई थाहा छ, २–३ वर्षदेखि निजगढमा एयर बेस बनाउने तयारी गरिएको छ । मैले बारम्बार भनिरहेको छु निजगढ विमानस्थलको बारेमा जे प्रचार गरिएको छ त्यसमा सत्यता छैन । निजगढमा सेनाको ब्यारेक बनाउने तयारी भइरहेको छ । फास्ट ट्रयाक सेनालाई दिइयो र पथलैयामा सेनाको ठूलो क्याम्प बनाइएको छ । जहाँ ३ तिरबाट सडक आएको छ त्यहाँ सेनाको क्याम्प बनाउन किन आवश्यक पर्यो ?’
सेनाबारे सांसद गिरीले थप कुरा बोल्दै गर्दा समय सकिएका कारण सभामुखले माइक काटिदिए । सभामुखबाट माइक काटिएपछि उनले थप बोल्न पाइनन् ।