२०७७ जेष्ठ २६ : काठमाडौँ – लकडाउनको समयमा एकैपटक ३७ जना स्वास्थ्यकर्मी हटाएको विरोधमा आन्दोलन गर्दै आएका प्रस्तावित चरिकोट अस्पतालका १३ जना स्वास्थ्यकर्मी आइतबार पक्राउ परेका छन् ।
निष्कासित कर्मचारीको पुनर्वहाली, अस्पतालमा भएको अनियमितताको छानबिनलगायतका माग गर्दै आन्दोलनमा उत्रिएका अस्पतालका १३ जना स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।
अस्पतालका ३७ कर्मचारीलाई हटाउनु अन्याय भएको भन्दै व्यवस्थापनविरुद्ध कर्मचारीले आन्दोलन गरेका थिए । अस्पताल गेटमा ताला लगाएको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बजेट र अन्तर्राष्ट्रिय सहयोग रोकिएको भन्दै न्याय हेल्थ नामक एनजिओले सञ्चालन गरेको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले (प्रस्तावित चरिकोट अस्पताल) गत साता ३७ जना कर्मचारी हटाउने निर्णय गरेको थियो ।
कर्मचारीले अस्पतालका फजुल खर्च रोक्नुपर्नेमा आफूहरूलाई अन्यायपूर्वक हटाएको भन्दै पुनर्वहालीको माग गरेका छन् । पक्राउ परेका कर्मचारीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।