काठमाडौँ – सरकारले महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको, भ्रष्टाचार बढेको, संभावित संक्रमितहरुलाई पीसीआर परीक्षण नगरेको जस्ता कुरामा विरोध जनाउँदै बालुवाटारमा प्रदर्शन भएको छ।
कलाकार, व्यवसायी, विद्यार्थी र विभिन्न पेशामा आवद्ध सर्वसाधारणहरुले स्वस्फूर्त रुपमा प्रधानमन्त्री निवास नजिक गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावपूर्ण भएको छ । शान्तिपूर्ण धर्नामा बसेकाहरुमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहोरा पनि छ्यापेको छ । प्रदर्शनकारीमध्ये केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
प्रदर्शनकारीहरुले आरडीटी किटबाट भइरहेको परीक्षण बन्द गर्न, पीसीआर प्रविधिबाट परीक्षण गर्न लगायतका माग गरेका छन् । त्यस्तै १४ दिनसम्म लक्षण नदेखिएका कोरोना संक्रमितलाई पुनः परीक्षण नै नगरी घर पठाउने सरकारी नीतिको पनि विरोध गरेका छन् । उनीहरुले सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्ब रुपैयाँको हिसाब पनि मागेका छन् ।