मुलुक कोरोना भाइरससँग लडिरहँदा सरकारले भने मुख्यमन्त्रीदेखि मन्त्री,राज्यमन्त्रीको तलब र सेवा सुविधा भारी बृद्धि गरेको छ ।सुदूरपश्चिम सरकारले त्यहाँका मुख्यमन्त्री,मन्त्री,राज्यमन्त्री,सहायकमन्त्री देखि प्रदेशसभा सदस्य,प्रतिपक्षी दलका नेताहरुको सम्म तलब भत्ता तथा सुविधामा भारी रुपमा बृद्धि गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीको तलब सुविधा सोह्रदेखि अठार प्रतिशतसम्म बढाएको छ ।
तलब बढाएसँगै,मुख्यमन्त्रीको ७१ हजार, मन्त्रीहरूको ६३ हजार, राज्यमन्त्रीको ६० हजार र सहायक मन्त्रीको मासिक पारिश्रमिक ५८ हजार रुपैयाँ पुगेको छ । यसअघि मुख्यमन्त्रीले ६० हजार ९७०, मन्त्रीले ५४ हजार र राज्यमन्त्रीले ५८ हजार पारिश्रमिक पाउँदै आएका थिए । मुख्यमन्त्रीको ११ हजार,मन्त्रीको ९ हजार र राज्यमन्त्रीको २ हजार तलब बढाइएको हो । त्यस्तै मन्त्रिपरिषद् बैठकले सभामुखले ६४ हजार, विपक्षी दलको नेता र उपसभामुखले ५९ हजार ५ सय, सत्ता पक्षका प्रमुख सचेतक तथा सभापतिले ५७ हजार ५ सय, सत्ता पक्षका सचेतक तथा विपक्षी दलको प्रमुख सचेतकले ५७ हजार र प्रदेश सभा सदस्यले ५६ हजार ५ सय रुपैयाँ मासिक पारिश्रमिक पाउने भएका छन् । प्रदेश सभाका पदाधिकारी तथा प्रदेश सभा सदस्यहरुको पारिश्रमिक पनि वृद्धि गरेको छ ।
सभामुखले ५५ हजार तलब बुझ्दै आएकोमा अब ९ हजार बढेर ६४ हजार बुझ्नेछन् । यस्तैगरी उपसभामुख र विपक्षी दलका नेताले यस अघि ५१ हजार बुझ्दै आएकोमा ८ हजार थपेर ५९ हजार खानेछन् । यसैगरी सत्ता पक्षको प्रमुख सचेतकको तलब ४९ हजार पाँच सयबाट बढाएर ५७ हजार पाँच सय पुरइएको छ भने,सत्ता पक्षका सचेतक र विपक्षी दलका प्रमुख सचेतकको तलब ४९ हजार बुझ्दै आएकोमा ८ हजार थपेर ५७ हजार पाँच सय पुर्याइएको छ । प्रदेशका सांसदहरुले यस अघि ४८ हजार थाप्दै आएकोमा अब ८ हजार ५ सय थपेर ५६ हजार ५ सय बुझ्नेछन ।