सांसद सरिता गिरीलाई प्रहरीले सीमानाकाबाटै फर्कायो

Politics

काठमाडौँ – सीमाबन्दीकै बीच भारत जान लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका छन् ।

उनी सिराहाको ठाडी नाकाबाट मंगलबार भारतको बिहारतर्फ जान लागेकी थिइन् । संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहामा पुगेकी थिइन् ।

सांसद गिरी कार्यकर्ता भेट्न भन्दै सीमा क्षेत्रमा पुगेको र त्यतैबाट पारि नगई फर्किएको  सिराहा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।सिमानामा खटिएका सशस्त्र प्रहरीका एक अधिकृतका अनुसार उनलाई दशगजा नजिकबाट फिर्ता पठाइएको हो । सांसद गिरीको माइती बिहार हो भने घर सिराहाको बस्तिपुरमा पर्छ ।